एसईई ग्रेडवृद्धि परीक्षामा अछाममा कडाइः परीक्षा रद्धदेखि कानुनी कार्वाहीसम्म
अछाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन अछाममा थप कडाइ गरिने भएको छ । परीक्षामा असम्बन्धित सामग्री फेला परेमा परीक्षा रद्ध गर्नेदेखि कानुनी कार्वाही गरिने शिक्षा विकास तथा समन्वय इकाइले सूचना जारी गरेको छ ।
परीक्षा केन्द्रमा गेसपेपर, चिट, मोबाइल फोन प्रयोग गरे वा गराएमा उक्त विद्यार्थीको परीक्षा रद्ध गरिने इकाइ प्रमुख अम्बादत्त जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । परीक्षा अवधिभर परीक्षा केन्द्रमा फेला परेका सामग्री प्रहरीमा राख्ने र परीक्षा सकिएको अन्तिम दिन साउन ३१ गते कानुनी प्रक्रियामा लैजाने सूचनामा जनाइएको छ । परीक्षामा संलग्न निरीक्षक र अन्य सम्बद्ध पक्षले परीक्षामा अनियमति कार्य गरेमा कडा कार्वाही गरिने बताइएको छ ।
ग्रेडवृद्धि परीक्षामा अछामबाट यसपटक दुई हजार ८९७ जनाले परीक्षा दिने छन् । परीक्षाका लागि जिल्लाका छ स्थानीय तहका १० परीक्षा केन्द्रमा परीक्षा चल्ने छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । ग्रेडवृद्धि परीक्षा भोलि अर्थात साउन २३ गतेबाट शुरु हुनेछ ।