विद्यावारिधि प्राप्त शाहीलाई क्याम्पसद्वारा बधाइ ज्ञापन
![](https://miraclepati.com/wp-content/uploads/2024/08/1111.jpg)
मंगलसेन । अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ध्रुव कुमार शाहीले विद्यावारिधि (पीएचडी) पूरा गरेकोमा क्याम्पसले बधाइ ज्ञापन गरेको छ । त्रिभुवन विश्वविद्यालय, काठमाण्डौंबाट विद्यावारिधि प्राप्त गरेपछि आज क्याम्पसमा हाजिर भएसँगै क्याम्पसले बधाइ ज्ञापन गरेको हो ।
क्याम्पसमा एक अनौपचारिक कार्यक्रम आयोजना गरेर शाहीलाई खादा, टीका लाएर प्राध्यापक र कर्मचारीहरुले बधाई दिनुभएको हो । बधाइ कार्यक्रमका क्रममा शाहीको विद्यावारिधि प्राप्तिले अछाम बहुमुखी क्याम्पसको अनुसन्धान लगायत समग्र क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा रहेको क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख छत्र बहादुर विष्टको भनाइ छ ।
बधाई ज्ञापन कार्यक्रममा शाहीले विद्यावारिधि गर्नुभएको विषयको शोधपत्रको एकप्रति क्याम्पसमा रहेको अनुसन्धान समितिलाई हस्तान्तरण गरिएको छ । अनुसन्धान व्यवस्थापन समितिका संयोजक निवर्तमान क्याम्पस प्रमुख छत्र बहादुर विष्टलाई हस्तान्तरण गरिएको छ । बधाई ज्ञापन कार्यक्रममा क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
क्याम्पस प्रमुख शाहीले शिक्षाशास्त्र संकाय अन्तर्गत “अंग्रेजी भाषा शिक्षणमा सूचना, प्रविधिको प्रयोग” विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको हो । अछाम बहुमुखी क्याम्पसको सह–प्राध्यापक रहनुभएका शाही तुर्माखाँद गाउँपालिका–७ तोषी निवासी हुुनुहुन्छ ।