चरेस कारोबार आरोपमा अछाममा तीन पक्राउ
अछाम । लागूऔषधको चरेसको कारोवार र ओसारपसार गरेको आरोपमा अछाममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चरेसको कारोबारमा संलग्न भएको आरोपमा दुई जना व्यापारी र एक जनालाई ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
चरेसको कारोबार गरेको आरोपमा पक्राउ पर्नेमा कमलबजार नगरपालिका–६ गैरीटाँडका व्यापारी गोरे चलाउने र कलम शाहीलाई अछाम प्रहरीले पक्राउ गरेको हो । चलाउनेद्धारा सञ्चालित नेत्र कोल्ड स्टोरको कोठाको छतको काठ (जुवा) भित्र लुकाइ राखेको १३२ ग्राम लागूऔषध फेला परेको अछाम प्रहरीले जानकारी दिएको छ । यस्तै सोही स्थानको पसलको कोठाभित्र खटियामुनी लुकाइ राखेको ११४ ग्राम लागूऔषध नियन्त्रण लिइएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो ।
यता मंगलसेन नगरपालिका–६ ठुलासेन बजारमा शंकास्पद रुपमा सडकमा हिडिरहेका एक युवकबाट एक दशमलव ५४० ग्राम चरेससहित फेला पारेर नियन्त्रणमा लिएको अछाम प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा डोटीको दीपायल सिलगढी नगरपालिका–५ स्थायी घर मंगलसेन नगरपालिका–५ मंगलसेन बजार बस्ने अरुण जंग टेलर रहेका छन् ।
तीनै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पार्कीको भनाइ छ । केही दिनयता अछाम प्रहरीले लागूऔषध नियन्त्रमा विशेष अभियान सञ्चालन गरिरहेको छ । लागूऔषध नियन्त्रणको प्रहरीको अभियानलाइ जिल्लावासीले सकारात्मक रूपमा लिएका छन् ।