एकै वडामा १३ हजार गाँजाका बोट प्रहरीद्वारा नष्ट

अछाम । चौरपाटीको एक वडामा लगाइएका करिब १३ हजार गाँजाका बोट प्रहरीले नष्ट गरेको छ । चौरपाटी गाउँपालिका–६ दुनीमा लगाइएका गाँजाका बोट चैखुट्टे प्रहरी चौकीका प्रहरीले नष्ट गरेको हो ।
मंगलबार पाँचहजार पाँचसय बोट र बुधबार सात हजार पाँचसय गाँजाका बोट नष्ट गरिएको अछाम प्रहरीले जानकारी दिएको छ । एउटै वडाबाट दुई दिनको अवधिमा उक्त संख्यामा गाँजाको बोट नष्ट गरिएको हो । गह्रामा लगाइएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको बताइएको छ । वडा अध्यक्ष डबल बहादुर खड्का सहितको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेको हो ।
नेपाली कानुन अनुसार गाँजा खेती गर्न बन्देज गरिएको छ । तर पुरानो परम्परा अनुसार विभिन्न सामग्रीका लागि केही गाउँमा यसको खेती हुँदै आएको छ । पछिल्लो समयमा गाँजालाई व्यवासयिक रुपमा उपयोग गर्न पाउनुपर्ने छलफलहरु भइरहेका छन् ।