चोरी मुद्धाका कसुरदार १४ महिनापछि घरबाटै पक्राउ

अछाम । मन्दिरबाट मुर्ती र गहना चोरी मुद्धामा अछाम अदालतबाट दोषि ठहरिएका एक व्यक्तिलाई अछाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँफेबगर नगरपालिका–४ भण्डारी गाउँका रनबहादुर मिजार रहेका छन् ।
घटना भएको एक वर्ष दुई महिनापछि अछाम प्रहरीको टोलीले कसुरदारको घरबाट पक्राउ गरेर अछाम अदालतमा बुझाइएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो । अछाम अदालतले मिजारलाई ३० हजार जरिवाना र १२ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने आदेश दिएपनि मिजार फरार रहेका थिए ।
गएको वर्षको भदौ २९ गतेको फैसलामा मिजार र सोही नगरपालिका–१० घुँगुरकोट टिकाराम जोशी मिलेर चोरी गरेको अदालतले ठहर गरेको थियो । जोशीलाई अछाम अदालतले तीन वर्ष कैद, ३० हजार जरिवाना र १२ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने आदेश फैसला गरेको थियो । अदालतको फैसला अनुसार जोशी हाल कारागार अछाममा कैद भुक्तान गरिरहेका प्रहरी निरीक्षक पार्कीको भनाइ छ ।
साँफेबगर नगरपालिका–१० घुँगुरकोटमा रहेको नवदुर्गा मन्दिरबाट जोशी र मिजारले २०८० जेठ १० गते मुर्ती र गरगहना चोरेको बताइएको छ ।