हिंसा निवारणको कोषका बारेमा कमलबजारमा अन्तरक्रियाः कार्ययोजना तयार

कमलबजार । लैङ्गिक हिंसा निवारणको कोषका बारेमा सरोकारवालाहरुकोसँगको अन्तरक्रिया कमलबजार नगरपालिकामा आज सम्पन्न भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनामा कोषको प्रभावकारी सञ्चालनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियाका क्रममा कोषलाई अझै प्रभावकारी बनाउन कार्ययोजना समेत तयार पारिएको छ । कोषका क्रियाकलाप, समय तथा स्थान, जिम्मेवार निकाय, सहकार्य तथा समन्वयको क्षेत्र तोकेर कार्ययोजना निर्माण गरिएको छ । कार्ययोजनामा नियमित बैठक, अभिमुखिकरण कार्यक्रम, समिति गठन, कोषमा रकम बढाउने, मिडियाबाट जनचेतनामुलक सन्देश प्रकाशन तथा प्रसारण गर्ने योजनामा रहेको छ ।

कमलबजारमा सञ्चालन भइरहेको कार्यक्रमको विगतमा गरेका काम, आगामी दिनमा गर्नुपर्ने कामका बारेमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनाका अछाम प्रमुख गोकुल खड्काले प्रस्तुति गर्नुभएको थियो । प्रतिकार्यको छ महिनाको अवस्थाका बारेमा सिएमसी नेपालका पार्वती बोहरा, कमलबजार नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोषका बारेमा नगरका महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुंगानाले प्रस्तुति राख्नुभएको थियो । प्रस्तुतिपछि संयुक्त राष्ट्र संङघीय जनसंख्या काेष (युएनएफपीए) का अछाम प्रमुख आस्था रिजालले अन्तरक्रिया कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।

लैङ्गिक हिंसाका विरुद्ध नगरपालिकाको अभियान नै रहेको भन्दै कार्यवाहक नगरप्रमुख शारदा विष्ट कुँवरले अभियानमा सबैले साथ दिनका लागि आग्रह गर्नुभयो । लैङ्गिक हिंसा नियन्त्रका लागि नगरपालिकाले आगामी दिनमा थप कार्यक्रमका साथमा अघि बढ्ने भनाइ राख्नुभयो । लैङ्गिक विभेद अन्त्यमा हरेक व्यक्तिले सक्रिय भएमा मात्र हिंसा न्यूनिकरण गर्न सहज हुनेमा कमलबजार नगरपालिका–५ का अध्यक्ष सत्यराज तिमिल्सैनालगायतले सुझाव राख्नुभएको छ । स्थानीय सरकार, संघसंस्था र व्यक्तिको समन्वय र सहकार्यले मात्र लैङ्गिक हिंसा नियन्त्रणमा जोड सहभागीको छ । साथै लैङ्गिक हिंसा निवारण कोषलगायतका विषयमा नागरिकहरुलाई सचेत पार्ने काम आवश्यक भएको सहभागीको भनाइ छ ।

नगरका कार्यवाहक प्रमुख शारदा विष्ट कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका अध्यक्ष र जनप्रतिनिधि, नगरका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर विष्टको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका पूर्णप्रसाद बजगाईले गर्नुभएको थियो । युएनएफपिएको आर्थिक सहयोग, पीसविन र भिएसओको सहजीकरण र कमलबजार नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page