फोहोरबाट ग्यास निकालेर घरघरमा निशुल्क जडान

शिवराज ढुंगाना, अछाम । फोहोरबाट ग्यास निकालेर मंगलसेन नगरपालिकाले घरघरमा निशुल्क रुपमा ग्यास पाइप जोड्न थालेको छ । बायोग्यास प्लान्ट जडान गरेर बजारबाट निस्किेको फोहोर र गाईगोरुको गोबरबाट ग्यास निकालेर नगरपालिकाले निशुल्क ग्यास वितरण थालेको हो । ५० हजार लिटर ग्यास उत्पादन भण्डारण हुने गरेर मंगलसेन नगरपालिका–६ तेसिंङ्गेको ‘डम्पिङ साइड’ मै बायोग्यास उत्पादन गरिएको छ ।

घर नजिकै निकालेको बायोग्यासको पाइप जोडेर घरमा आगो बाल्न थालिएको तेसिंङ्गेका ताराप्रसाद भण्डारीको भनाइ छ । “घरमा ग्यास जडान भयो, अब दउरा ल्याउनका दुख जान्या भया ।” ताराप्रसादले सुनाउनुभयो । आफूले ग्यास चुलो पाइसकेको र ग्यासको पाइप जडानको कार्य जारी रहेको सोही ठाउँका रंगप्रसाद भण्डारीको भनाइ छ । ‘डम्पिङ साइड’ का प्रभावित क्षेत्रमा पहिलो प्राथमिकताका साथमा निशुल्क बायोग्यास दिइने बताइएको छ । “अहिले पाँच घरमा हामीले ग्यास पाइप जोडेर उहाँहरुले खाना पकाउन थालिसके, अब अरु घरमा जोड्ने क्रममा छौं ।” वडा अध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले भन्नुभयो । फोहोरबाट निकालिएको बायोग्यासलाई ७० घरधुरीमा निशुल्क जडान गर्ने योजना रहेको बताइएको छ ।

“कुहिने फोहोरलाई संकलन गरेर मिक्स गरेर लेदो बनाइन्छ । पाइपको माध्यमबाट फोहोर लेदोलाई पाइपका माध्यमबाट डाइजेष्टरमा पठाएर ग्यास निकाल्ने गरिएको छ ।” इन्जिनियर खम्म केसीले थप्नुभयो । “उत्पादन भएको ग्यास त्यसपछि ग्यास घरघरमा पाइपबाट जोडिन्छ ।” बायोग्यास प्लान्टबाट सिधै घरमा ग्यास जोडिने भएपछि स्थानीय निकै खुसी भएका छन् । हेटौडाबाट बायोग्यास प्लान्ट जोड्न जनशिक्त ल्याएर गएको फागुन महिनाबाट काम थालनी गरिएको थियो ।

फोहोरको उपयुक्त व्यवस्थापन, नागरिकले उर्जा सेवा र मल प्राप्ति गर्ने विश्लेषण गरेर बायोग्यास उत्पादन गरिएको नगरप्रमुख पदमबहादुर बोहराको भनाइ छ । कुहिले वस्तुको उचित व्यवस्थापन पनि हुनेभयो, नागरिकले ग्यास पाउने भए र ग्यासमा निकालेको मलले खेतीपातीमा प्रयोग हुने गरेर काम भएको छ । नगरप्रमुख बोहराको भनाइ छ । बायोग्यासलाई दीर्घकालिन रुपमा सञ्चालनका लागि आवश्यक फोहोरको संकलन तथा व्यवस्थापनको कामलाई ध्यान दिइने बताइएको छ ।

मंगलसेन नगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १८ लाख २० हजार रकम र जिआइजेटको रिप संस्थाको प्राविधिक सहयोगमा उक्त बायोग्यास उत्पादन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिनुभयो । नगरको ससर्ततर्फको १० लाख, उर्जाको आठलाख २० हजार रकम खर्च भएको छ । फोहोरको संकलन, ग्यास उत्पादनको अवस्था र प्राविधिक विश्लेषण गरेर उपभोक्ताको संख्या बढाइने नगरको योजना रहेको बताइएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page