अनेरास्ववियु अछामको बैठकः असोजभित्र जिल्ला अधिवेशन तोक्याे
मंगलसेन । नेकपा (एमाले) निकट अनेरास्ववियुको जिल्ला कमिटिको विस्तारित बैठक जिल्ला अधिवेशन असोज मसान्तभित्र सम्पन्न गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । मंगलसेनमा सम्पन्न बिस्तारित बैठकले जिल्ला अधिवेशन सम्पन्न गराउन कमल कोलीको संयोजकत्वमा ४२ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।
बैठकले सबै माध्यामिक विद्यालयमा र सातवटै क्याम्पसको सदस्यता वितरण, कमिटी निर्माणका लागि १९ जनालाई समन्वयकर्ताको जिम्मेवारी दिएको छ । समन्वयकर्ताले भदौभित्र सदस्यता वितरण र कमिटी गठन गरिसक्नुपर्ने समय दिइएको छ । मंगलसेन बहुप्राविधिक शिक्षालयको कोटा प्रणाली सच्याउन, कार्यालय स्थापना गर्ने, केन्द्रिय र प्रदेशस्तरमा निर्वाचितलाई बधाइ दिने निर्णय भएको अनेरास्ववियु अछामले जानकारी दिएको छ ।
अनेरास्ववियु अछामका अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा एमाले जिल्ला सचिव तथा संगठन संयन्त्रका जिल्ला संयोजक भीमबहादुर रावल रहनुभएको थियो । रावलले अनेरास्ववियुको बारेमा व्याख्या गर्दै जिल्लामा अनेरास्वयुले गर्ने काम र समन्वयका बारेमा निर्देशन दिनुभएको छ । अनेरास्ववियुको विगत र वर्तमानको अवस्था तुलना गर्दै रावलले अनेरास्ववियु शैक्षिक क्षेत्रको नेतृत्वकर्ता संगठन बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज निरकबहादुर शाहीले अध्ययन, अनुभाव र सक्रियताले मात्र खारिएको नेतृत्व बन्न सक्ने भन्दै अनेरास्ववियुका विद्यार्थीहरु त्यतातिर ध्यान जानुपर्ने भनाइ राख्नुभयो । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज शिवराज ढुंगाना, अनेरास्ववियुका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज मनपुरा शाहीले समेत सुझाव राख्नुभएको थियो । बैठकमा नेकपा (एमाले) अछामका सदस्य लिलाराज केसी, अनेरास्ववियु केन्द्रीय लेखा अायोग सदस्य कर्णबहादुर बुढासहित अनेरास्ववियु अाबद्द विद्यार्थी अगुवाहरूको सहभागिता रहेको थियो ।
केन्द्रको निर्णय अनुसार जिल्ला अध्यक्ष नरेन्द्र खड्का अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश सहइन्चार्ज नियुक्त भएपछि उपाध्यक्ष कमल कोली स्वतः जिल्ला अधिवेशन आयोजक भएपछि निर्णय पुस्तिका लगायतका सामग्री हस्तान्तरण गरिएको छ । नवनिर्वाचित अधिवेशन आयोजक कमिटीलाई आजै नै सपथग्रहण समेत गराइएको छ । साथै अछामबाट अनेरास्ववियुको केन्द्रीय समिति, आयोगमा निर्वाचित प्रदेशमा मानोनित र कमलबजार क्याम्पसमा स्ववियुमा विजयी सभापति सहित सदस्यलाई सम्मान गरिएको थियो । अनेरास्ववियु जिल्ला सचिव भीम बडाहितले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष कमल कोलीले स्वागत गर्नुभएको थियो ।