बान्नीगढी जयगढ गाउँपालिकालाई ‘यथावत’ राख्न प्रस्ताव: पुनर्संचनामा तीन विकल्प प्रस्तुत
अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको पुनर्संरचना गर्न नहुने भन्दै हालकै संरचनालाई यथावत राख्नुपर्ने मुख्य माग अघि सारेका छन् । जिल्ला समन्वय समितिमा बुझाइएको सुझावमा संघीयतापछि अरबौँको लगानीमा विभिन्न भौतिक संरचनाहरू निर्माण भइसकेकाले यस गाउँपालिकालाई हालकै स्थानमा कायम राख्नुपर्नेमा जोड दिइएको छ ।
पूर्वाधार र ऐतिहासिक पहिचानको जोड दिदै पहिलो प्राथमिकताका रूपमा गाउँपालिकाको अस्तित्वलाई नचलाई हालकै स्वरूपमा राख्नुपर्ने दाबी गरेका छन् । संरचना परिवर्तन नै गर्नुपरेमा, ऐतिहासिक र मौलिक पहिचान (५००, १५२०, ८०० र २६ दराखोलाको इतिहास) लाई जोगाउन हाल साँफेबगर नगरपालिकामा रहेका वडा नम्बर ६ (भागेश्वर) ७ (रेडिकोट) ८ (चण्डिका) लाई बान्नीगढीमा मिलाएर नयाँ सीमांकन गर्न सकिने दोस्रो विकल्प अघि सारिएको छ ।
जनसंख्याको मापदण्डका कारण हालको संरचना कायम हुन नसके बान्नीगढी र रामारोशन गाउँपालिकालाई गाभेर एउटै स्थानीय तह बनाउन सकिने प्रस्ताव गरिएको अध्यक्ष टेक बहादुर साउँदको भनाइ छ । प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका बान्नीगढी जयगढ, मेल्लेख र रामारोशन गाउँपालिकालाई समेटेर एउटा ठूलो नगरपालिका वा गाउँपालिका बनाउन सकिने धारणा समेत व्यक्त गरिएको छ ।
स्थानीय जनताको माग र भावना विपरीत पालिकालाई अन्यत्र गाभ्ने कुरामा असहमति रहेको बताइएको छ । आवश्यकता अनुसार वडाको संख्या भने हेरफेर गर्न सकिने लचकता भने देखाएका छन् । वडा निर्धारणका लागि विशेष गाउँसभा बोलाएर निर्णय गर्न सकिने तर स्थानीय तहको अस्तित्व मेट्न नहुने अडान रहेको बताइएको छ ।
