कालागाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना
कालागाउँ (अछाम) । मंगलसेन नगरपालिका–१४ कालागाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । कालागाउँको मेलपोथडीमा राखिएको अस्थायी पोष्टले तीन स्थानीय तहका छ वडा कार्यक्षेत्र तोकिएको छ । जसअनुसार मंगलसेन नगरपालिकाका–१० र ११ जुपु, १२ बान्नातोली, रामारोशन गाउँपालिकाका–१ मलातीकोट र बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना कार्यक्षेत्र रहने छ ।
अछाम प्रहरीका सूचना अधिकारी इनिस्पेक्टर कैलाशसिंह विष्टले उक्त अस्थायी प्रहरी पोष्टमा असइको नेतृत्वमा सात जना प्रहरी खटाइएको जानकारी दिनुभयो । प्रहरी पोष्ट स्थापनाले गाउँमा हुने झैझगडा, हिंसा, चोरीलगायतका अपराधका घटनामा नियन्त्रणमा हुने स्थानीय प्रकाश सोडारीको भनाइ छ । यसअघि मंगलसेन अस्थायी प्रहरी पोष्टको कार्यक्षेत्र निकै टाढा भएको भन्दै पटक–पटक स्थानीयले प्रहरी पोष्ट माग्दै आएका थिए ।
शुक्रबार एक कार्यक्रमकका बीचमा अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेले अस्थायी प्रहरी पोष्टको उद्घाटन गर्नुभएको छ । अस्थायी प्रहरी पोष्ट उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले प्रहरी नागरिककै सुरक्षाका लागि खटिने भएकाले आवश्यक सहयोगका लागि स्थानीयसँग आग्रह गर्नुभयो । अस्थायी पोष्ट स्थापना कार्यक्रममा मंगलसेन नगरका प्रमुख पदमबहादुर बोहरा, प्रहरी नायब उपरीक्षक सन्तोष पाठक, जनप्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो ।