विपदबाट सतर्क रहन अछाम प्रशासनको अनुरोधः अछाम तीन दिनसम्म उच्च जोखिममा
अछाम । वर्षाका कारण अछाम जिल्ला उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सर्तक रहन अनुरोध गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गरेर सुदूरपश्चिम प्रदेशका अन्य जिल्लासँगै अछाम पनि विपद्को हिसाबमा रातो क्षेत्र (रेड जोन) मा परेको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
शुक्रबारदेखि अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न पनि कार्यालयले भनेको छ । कार्यालयको फेसबुकमा राखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका पहाडी जिल्ला अछामसहित बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला गरेर सात जिल्लालाई उच्च जोखिममा राखेको छ ।
यी क्षेत्रमा शुक्रबार (आज) देखि आइतबार (पर्सी) सम्म भूक्षय, पहिरो तथा गेग्रान बहाबको अनुमान गरिएको छ । यस्तै ठूला तथा साना नदी र खोलाहरुमा पानीको सतह बढ्ने, जनजीवन, कृषि, स्वास्थ्य, सडक, पर्यटन तथा हवाई सेवा प्रभावित हुने अनुमान गरिएको छ । विपद् आउन भन्दा पहिला नै सर्तकता अपनाउन र पूर्वतयारी गर्न हुन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले समेत अनुरोध गरेको छ ।