सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा क्याम्पसको अवलोकनः क्याम्पसद्वारा माग पत्र पेश

अछाम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार अछाम बहुमुखी क्याम्पसको अवलोकन भ्रमण गर्नुभएको छ । क्याम्पसको वर्तमान शैक्षिक र भौतिक अवस्थासँगै क्याम्पसका गतिविधिका बारेमा प्रदेश प्रमुखले जानकारी लिनुभएको ।
अवलोकनका क्रममा क्याम्पसमा प्रदेश प्रमुख मियाँलाई स्वागत गर्दै क्याम्पसले एक ज्ञापनपत्र समेत बुझाएको छ । क्याम्पसको वर्तमान अवस्था, भावी योजना, समस्या र उच्च शैक्षिक संस्थामा प्रदेश सरकारले गर्नुपर्ने कामको लिखित ज्ञापनपत्र बुझाइएको हो । सुदूरपश्चिमका क्याम्पसहरुको दीर्घकालिन सञ्चालन र व्यवस्थापनका लागि भौतिक र शैक्षिक गुणस्तर वृद्धिमा बजेट विनियोजन, सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा निर्णय गराउन पहल गरिदिन भन्दै ज्ञापनपत्र बुझाइएको हो । क्याम्पस सञ्चालक समितिका पदम बहादुर बोहराले उक्त ज्ञापनपत्र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्नु भएको हो ।

माग पत्र बुझ्दै प्रदेश प्रमुख मियाँले क्याम्पसहरुको समग्र विकासमा सरकारले आवश्यक काम गर्नुपर्ने भन्दै माग गरिएका विषयमा आफू गम्भीर भएकोले सम्बन्धीत स्थानमा पुर्याउने भनाइ राख्नुभयो । प्रदेश प्रमुख मियाँको स्वागत कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख छत्र बहादुर विष्ट, पूर्व क्याम्पस प्रमुख नृप बहादुर चाडलगायत क्याम्पसका प्राध्यापक, कर्मचारीको सहभागिता रहेको थियो । क्याम्पसमा भएको अनौपचारिक कार्यक्रमको सञ्चालन निमित्त क्याम्पस प्रमुख मान बहादुर बुढाले गर्नुभएको थियो ।
क्याम्पसकै कार्यक्रमका क्रममा मंगलसेन बहुप्राविधिक शिक्षालयका प्रमुख तीर्थ आचार्यले पनि आफ्नो माग पत्र प्रदेश प्रमुखलाई बुझाउनु भएको थियो । प्रदेश प्रमुख मियाँलाई क्याम्पसको प्रवेशद्धारमै सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहरा सहित प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले फूलमाला, खादा र टीका लाएर स्वागत गरिएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page