अछाम पूर्ण खोप दिगोपना तथा सुनिश्चितता जिल्ला घोषणा
शिवराज ढुंगाना । खोप लाउनयोग्य सबै बालबालिकाले खोप लाएको सुनिश्चित भएपछि अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९१ वटै वडा र दशवटै स्थानीय तहले पूर्ण खोप लाएको सुनिश्चितता गरेपछि जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
१६ महिनादेखि पाँच वर्षसम्मका १३ हजार ४३६ बालबालिकालाई सबै खोप पूरा भएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जस मध्येमा मंगलसेन नगरपालिकामा एकहजार २५३ जना, साँफेबगर नगरपालिकामा एकहजार १८६ जना, कमलबजार नगरपालिकामा एकहजार २६२ जना र पञ्चदेवल विनायक नगरपालिकामा एकहजार ७५० जना बालबालिकाले पूर्ण खोप पाएका छन् । यस्तै तुर्माखाँद गाउँपालिकाले एकहजार ७४९ जना, चौरपाटी गाउँपालिकामा एकहजार ४२३ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ५७५ जना बाबालकिाले पूर्ण खोप पाएका छन् । यस्तै मेल्लेख गाउँपालिकामा एकहजार २१७ जना, रामारोशन गाउँपालिकामा एकहजार ७१८ जना र ढकारी गाउँपालिकामा एकहजार ३०३ बालबालिकाले खोप पाएको सुनिश्चिततासँगै जिल्लालाई पूर्ण खोप घोषणा गरिएको हो ।
हरेक बालबालिकाले खोप पाएको रेकर्ड, त्यसको अनुगमन र घरधुरी सर्वेक्षण गरेर वडा, पालिका हुँदै जिल्लालाई नै पूर्ण खोप घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो । पूर्ण खोपलाई आगामी दिनमा निरन्तरता दिइरहनुपर्ने बताइएको छ ।
साविकका ७५ वटै गाविसमा रहेका बालबालिकामा पूर्ण खोप पाएको सुनिश्चितता गरेर २०७१ भदौमा तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले अछामलाई पूर्ण खोप जिल्ला घोषणा गर्नुभएको थियो । अछाममा २०६९ भदौबाट पूर्ण खोप अभियान सञ्चालन थालनी गरिएको थियो ।