अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा
मंगलसेन । बालबालिकाहरुले १३ प्रकारका खोप पूरा गरेको सुनिश्चितता पश्चात अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शनिबार मंगलसेनमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
९१ वटै वडा र दशवटै स्थानीय तहका खोप लाउने उमेरका बालबालिकाहरुले सबै प्रकारका खोप लाएको प्रमाणिकरण गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएका हो । जन्मेदेखि १५ महिनासम्मका चारहजार ३२४ जना बालबालिकालाई खोप लाएको बताइएको छ । यस्तै १६ देखि ५९ महिनासम्मका १२ हजार ४२५ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चिततापछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
गएको जेठ २८ बाट असार ३ सम्म स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता गरिएपछि अनुगमन पश्चात जिल्लालाई घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो । सबै बालबालिकाहरुले पूर्ण रुपमा खोप पाएको सुदूरपश्चिम प्रदेशको खोप समन्वय समितिले अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र प्रदान गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता घोषणाका क्रममा सहभागी स्थानीय तहका प्रमुखले सबै बालबालिकाहरुले खोप दिनका लागि आफूहरु प्रतिबद्ध रहेको भनाइ राख्नुभएको छ । स्वास्थ्यमा भौतिक संरचना, मानवीय शक्ति र अपुग बजेटका कारण स्वास्थ्यको क्षेत्रमा आफूहरुले अपेक्षाकृत रुपमा पूरा नभएको जनप्रतिनिधिहरुको भनाइ रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले स्वास्थ्यको महत्वपूर्ण क्षेत्र कुपोषणबाट बच्न कृषिमा जोड दिएर स्थानीय खाद्यन्नको उपयोगमा जोड दिनुभयो ।
२०६९ पुस १४ गते नेपालमै पहिलो पटक साविकको भागेश्वर गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो । २०७१ भदौ २८ गते तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो ।
घोषणसभा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झनकराज ढुंगानाले जिल्लाको खोपको अवस्था, सफलताको कारण र स्वास्थ्य समस्या सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । घोषणा कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गर्नुभएको थियो ।