पोलियो खोप अभियानः अछाममा १३ हजार ५ सय बढीलाई लाइने
अछाम । पोलियो रोग विरुद्धमा अछाममा पर्सी जेठ १३ देखि बालबालिकाहरुलाई आइपीभी खोप दिइने भएको छ । २०७३ साल बैशाखदेखि २०७५ साल असोजसम्म जन्मिएका बालबालिकाहरुलाई खोप केन्द्य्रबाट खोप दिइने भएको हो ।
यस उमेर समुहका १३ हजार ५ सय ९८ जना बालबालिकालाई अछाममा खोप लाउन अन्तिम तयारी रहेको स्वास्थ्य कार्यालय, अछामले जानकारी दिएको छ । बालबालिकालाई स्वस्थ बनाउने महान अभियानमा जिल्लावासीहरुले सहयोगमा अपेक्षा गरिएको कार्यालयका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले सबैलाई आग्रह गर्नुभएको छ । बिहिबार मंगलसेनमा आयोजना खोप समन्वय समिति अछामको बैठक तथा अन्र्तक्रिया कार्यक्रममा यो अभियानको बारेमा जानकारी गराइएको छ ।
कार्यक्रमको अध्यक्ष रहनुभएका खोप समन्वय समिति अछामका संयोजक तथा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले राज्यले सञ्चालन गरेका यस्ता अभियानहरुमा हरेक नागरिकले आफ्नो तहबाट सहयोग गर्नुपर्ने भनाइ राख्नुभएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले खोप अभियान राम्रो अभियान भएको भन्दै यसको सञ्चालन, व्यवस्थापन र अनुगमनलाई प्रभावकारी रुपमा लैजानका लागि सुझाव दिनुभयो । सोही क्रममा जिल्लाको पूर्ण खोप अभियानका बारेमा समेत छलफल भएको थियो ।
कार्यक्रममा जिल्लाका सुरक्षा निकाय, जिल्ला अस्पताल र वयलपाटा अस्पतालका चिकित्सक, अछाम रेडक्रस, पत्रकारलगायत संघसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गर्नुभएको थियो ।