मन्त्री भण्डारीद्वारा अछाम अस्पताल निरीक्षणः बजेट सुनिश्चितताको प्रतिबद्दता
अछाम । नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले अछाम अस्पतालको भवनका निर्माणका लागि आफू काठमाण्डौ जाने बित्तिकै बजेट सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अछाम अस्पतालको निरीक्षणमा पुग्नुभएका मन्त्री भण्डारीले अस्पतालको बजेट सुनिश्चितताका लागि आफूले आज (शनिबार) बिहानै सम्बन्धित निकायमा कुराकानी गरेको अस्पतालका डाक्टर भुवन जिसीलाई जानकारी दिनुभयो ।
बजेटको सुनिश्तितापछि अस्पतालको भवन निर्माणले गति लिने अपेक्षा गरिएको छ । अस्पतालको बजेट सुनिश्चिततासँगै ५० शैय्या (वेड) को निर्णय भइसकेको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा अछाम–२ का पूर्वसांसद यज्ञबहादुर बोगटीको भनाइ छ । त्यसका बारेमा समेत कुरा गरिने मन्त्रीको भनाइ रहेको छ । अछाम अस्पताल निर्माणका लागि ५० करोडको सुनिश्चितता गर्न अछामका अगुवाहरुको माग रहँदै आएको छ ।
२०८० वैशाखमा अछाम अस्पतालको मुख्य भवन निर्माणका लागि ठेक्का भएपनि हालसम्म रकमको सुनिश्चितता भएको छैन । ५० करोडमा बन्ने अस्पतालमा बीचमा २० करोड समेत नआएपछि अस्पतालको ठेक्का हालसम्म अलपत्र परेको छ । भवन अभावमा जिल्ला अस्पताल सञ्चालनमा सहजता नभएको भनाइ आइरहेका छन् ।
जिल्ला अस्पतालको बजेट सुनिश्चितता गर्नका लागि पूर्वसांसद बोगटी, एमाले नेता डिवी साउँद र अर्का नेता शिद्धप्रसाद ढुंगानाले केही दिनअघि अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख, स्वास्थ्य मन्त्रालयका सचिवसँग छलफल गर्नुभएको थियो । आउँदो बजेटमा अछाम अस्पताल भवनको ५० करोड बजेट सुनिश्चितमा प्रक्रिया अघि बढाउने सहमत भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशका अछाम बाहेक सबै जिल्लामा आधुनिक भवनसहितका अस्पताल निर्माण भइसकेका छन् । अछाम जिल्ला अस्पतालमा मात्रै पुरानो भवनमा काम चलिरहेको छ । अछामका नागरिकले चाँडाे भन्दा चाँडाे अस्पतालको भवन निर्माण हुनुपर्ने माग गरिरहेका छन् ।