अछाम कारागारमा निशुल्क आँखा शिविरः ९० जनाको आँखा परीक्षण

अछाम । कारागारमा रहेका ९० जना कैदीबन्दीको निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलसेन नगरपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा ६ जना महिला र दुई जना बालकको निशुल्क आँखा परीक्षण गरिएको हो ।
परीक्षण गरिएका मध्येमा दुई जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्था फेला परेको नेत्रज्योति अछामका अध्यक्ष शंकरबहादुर रावलले जानकारी दिनुभयो । आँखा परीक्षण गरिएकोमा उमेर अनुसार नजिकको पावर कम, मासु पलाएको, आँखा पाकेको, मौसम अनुसार आँखाको एलर्जी र न्यून दृष्टि भएको पाइएको बताइएको छ ।
आँखामा समस्या भएका ५० जनालाई चश्मा र औषधि निशुल्क वितरण गरिएको छ । आँखा परीक्षणका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष विक, कारागकार कार्यालय प्रमुख इन्द्र बहादुर चौधरी, कारागार कर्मचारी, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।