अछामको सीडिओमा लम्साल आउँदैः पोखरेलको अनिवार्य अवकास हुँदै

मंगलसेन । अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडिओ) मा शिव प्रसाद लम्साल आउने भएका छन् । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लम्साललाई अछामको सीडिओमा पठाउन लागेको हो ।
अछामका हालका सीडिओ शरद कुमार पोखरेल अनिवार्य अवकाश (रिटायर्ड) मा जान लागेपछि नयाँ सीडिओ आउने भएका हुन् । पोखरेलको जेठ ६ गतेबाट अवकाश हुने बताइएको छ । कोशी प्रदेशको मोरङ जिल्ला निवासी पोखरेल २०८० साउन ३१ बाट अछामको प्रमुख जिल्ला अधिकारीको पद सम्हाल्नु भएको थियो ।
अछाममा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुहुने लम्साल प्रशासन र स्थानीय तहको क्षेत्रमा राम्रो अनुभव भएको बताइएको छ । स्याङजाको पुतलीबजार निवासी लम्साल २०८० वैशाखदेखि जिल्ला प्रशासन कार्यालय, पर्सामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ ।