गाउँगाउँमा सचेतना बाँड्दै अछाम प्रहरी
शिवराज ढुंगाना, मंगलसेन । शान्ति सुरक्षालाई प्रभावकारी बनाउन अछाम प्रहरीले समुदायस्तरमै गएर हिंसा, अपराध र कुरीति न्यूनिकरणमा सचेतना अभियान थालनी गरेको छ । विद्यालय, वडा र टोलस्तरमै पुगेर अछाम प्रहरीले बालबालिकादेखि जेष्ठ नागरिकलाई सचेत गर्न थालेको हो ।
बाल यौन दुरुपयोग, महिला हिंसा, लागु औषध दुव्र्यसनी, बहुविवाह, सामाजिक सञ्जाल दुरुपयोका बारेमा सर्वसाधारणलाई सचेतना थालेको छ । प्रहरीका विभिन्न चौकीहरुबाट खटिएर महिला, बालबालिका, यूवा, जेष्ठ नागरिक, अपाङ्ग लगायातको सहभागितामा घटना कसरी घट्छन् ? त्यसको नियन्त्रण, कानुनी कार्वाही र प्रक्रियाका बारेमा बुझाउन थालिएको हो । गएको चैत महिनामा मात्र १२ स्थानमा विभिन्न विषयका सचेतामुलक कार्यक्रम गरिएकोलकार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो । सचेतना अभियानमा पुरुषको भन्दा महिलाको संख्या बढी हुने गरेको बताइएको छ ।
समुदाय, विद्यालय र विभिन्न समूहमा पुगेर अपराध, हिंसा र कानुनका बारेमा अछाम प्रहरी गाउँमै गएर बुझाउन थालेको हो । अपराध र हिंसा र अन्य गलत अभ्यासले व्यक्ति, परिवार र समाजलाई पार्ने तत्कालिन र दीर्घकालिन प्रभाव, त्यस्तो कार्यबाट हुने दण्ड र सजायका बारेमा प्रहरी जानकारी गराउन थालेको छ । हिंसा, अपराध र कुरीति रोकथामको काम प्रहरीले एक्लैको दायित्व नभएर समाजका हरेक व्यक्ति जिम्मेवार र जागरुक बनाउनका लागि सचेततना अभियान सञ्चालन गरिएको अछाम प्रहरीको भनाइ छ ।
विद्यालयमा बालबालिकाका हक अधिकार, उनीहरुमा हुने हिंसा, आत्मरक्षाका सीप, साइबर अपराध, लागु औषध दुव्र्यसनी, सवारी दुर्घटना जस्ता विषय सचेतना गर्ने काम भएको अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । समुदायमा कुसंस्कार, हिंसा, अपराध, व्यक्ति र समाजको अधिकार र कर्तव्य, कानुनी ज्ञान दिने गरेको बताइएको छ । “समुदायसँगै साझेदारी गरेर उनीहरुका समस्या सुन्ने र उनीहरुलाई सुसुचित गर्ने उद्धेश्यले हामी समुदाय र विद्यालयमा गइरहेका छौ ।” अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीको भनाइ छ ।
समुदाय र विद्यालयमा सचेतना अभियान सञ्चालनका लागि कार्यालयले बार्षिक क्यालेण्डर नै बनाएर गएको बताइएको छ । अभियान सञ्चालनपछि सकारात्मक परिणाम आउने गरेको अछाम प्रहरीले अनुभव गरेको भनाइ छ । घरेलु हिंसा, अवैध मदिरा, अपराध नियन्त्रण र विपद्मा आइपरेमा प्रहरीलाई सूचनाका लागि फोन गर्न भन्दै यसअघिका प्रहरी प्रमुख जनकबहादुर शाही गाउँमै पुगेर कार्यालयको मोबाइल नम्बर बाँड्नु भएको थियो ।