यी हुन् साँफेबगरको आगलागीमा परेका पसल

अछाम । साँफेबगर नगरपालिका-३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा परेका दश वटा पसलको पहिचान खुलेको छ । अछाम प्रहरीले संकलन गरेको विवरण अनुसार हाटबजारमा रहेको सुभेच्छा मःम सेन्टरको बिजुलीको तार सर्ट भएर बिहान करिब ३ः४५ बजेतिर भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासीको सहयोगमा बिहान करिब ६ तिर बजे नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परेर चौरपाटी गाउँपालिका ५ घर भई हाल साफेबगर नगरपालिका-३ हाटबजारमा बस्ने बर्ष २५ को प्रेम खड्काको सुभेच्छा मःम सेन्टर, हाटबजारकै गंगबहादुर कुँवरको काल भैरव जनरल स्टोर, हाटबजारकै मकर कुँवरको रिभरसाईड नास्ता पसल जलेर पूर्ण रुपमा क्षति भएको छ । यस्तै सोही ठाउँका टिका कुँवरको ब्युटी पार्लर, ज्ञानेन्द्र कुँवरको डाक मोबाइल ग्यालरी, दिक सुनार कालभैरव सुन चाँदी पसल (सुनचाँदी बाहिर निकालिएको) मात्र जलेर नष्ट भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । हाटबजारकै भीम कुँवरको रोडसाईड रेष्टुरेन्ट, सुमन कुँवरको इ.भी. गाडी काउन्टर र पसल, किशोर भाटको नास्ता पसल र सुरेश कुँवरको सितल होटेल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको हो ।
क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो । अघिल्लो महिना चैत अन्तिमतिर अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा २३ घरमा आगलागी भएर नष्ट भएका थिए ।