हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सल्लाहकारको बैठक सम्पन्न

अछाम । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सल्लाहकार समितिको बैठक मंगलसेनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको अधयक्षतामा भएको बैठकले छ वटा विषयमा छलफल गरेको छ ।
लैङ्गिक विभेदमा आधारति हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले एक वर्षको अवधिमा मंगलसेनमा सम्पन्न कामहरुको बारेमा समीक्षा गरेको छ । यस्तै आगामी योजनाहरुका बारेमा छलफल गरिएको छ । मंगलसेन नगरपालिकाको लैङ्गिकमैत्री बजेट र प्रतिबद्धताहरुको कार्यान्वयन, जेसी नीति र हानिरक अभ्यास न्यूनिकरण र महिलालाई लघुउद्यममा जोड्ने विषयमा छलफल भएको हो । यस्तै मंगलसेन नगरपालिकाभित्र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८० का बारेमा छलफल भएको मंगलसेन नगरपालिकाका सूचना अधिकारी विष्णप्रसाद जैसीले जानकारी दिनुभयो ।
समितिको बैठकमा सहभागी सरोकारवालाहरुले परियोजनाले मंगलसेन नगरपालिकामा सम्पन्न कामहरुका बारेमा सुझाव समेत दिनुभएको छ । परियोजानले सबै वडाहरुमा लामो समयसम्म काम गर्नका लागि माग गर्नुभएको छ । मंगलसेन नगरपालिकामा हिंसाको अवस्था, कार्यक्रम र सहयोग, आगामी दिनमा गरिने क्रियाकलापका बारेमा छलफल भएको बताइएको छ । पछिल्लो समयमा हिंसा पीडितहरु खुल्न थालेसँगै न्यायका लागि सम्बन्धित निकायमा पुग्नेको संख्या बढेको पाइएको छ । स्थानीय तहमा हिंसा निवारण कोष, न्यायिक समिति, कानुनी सचेतना र सेवाको पहुँचले हिंसाका घटना बाहिर आउन थालेको बताइएको छ । युएनएफपिएको सहयोगमा आइपास नेपाल र सिएमसी नेपालले मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा लैङ्गिक विभेदमा न्यूनिकरणका क्षेत्रमा काम गरिरहेको छ ।
बैठकमा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले हरेक व्यक्ति शिक्षित र सचेत भए मात्र हिंसा न्यूनिकरण हुनेमा जोड दिनुभयो । बैठकलाई सम्बोधनका क्रममा बोहराले पुजि, प्रविधि र बौद्धिकताको आधारमा स्थानीय तहको काम थप प्रभावकारी हुने भन्दै यसमा सरकारी, गैरसकारी, नागरिक समाज एक भएर गएमा परिवर्तन चाँडै सम्भव हुने भनाइ राख्नुभयो । कुरिती, कुस्ंस्कारका विरुद्धमा माथिल्लो तहमा भएका छलफललाई गाउँ तथा घरघरसम्म पुर्याउन सकेमा हिंसा अन्त्यमा सहयोग हुने भनाइ राख्नुभयो । उहाँले गैरसरकारी निकायपनि राज्यकै सहयोगका लागि भएको भन्दै उनीहरुको बजेट, सीप र सहयोग स्थानीय सरकारलाई आवश्यक भएको भनाइ राख्नुभयो ।
बैठकमा मंगलसेन नगरपालिका उपप्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, वडा अध्यक्षहरु, प्रहरी निरीक्षक राजेन्द्र साउँद, मंगलसेन महिला बहुउद्धेश्य सहकारीका अध्यक्ष मनकला न्यौपाने, नगरकार्यपालिका सदस्य र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । एक वर्षको अवधिमा सम्पन्न गरिएका काम, प्रगति र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा युएनएफ अछामका प्रमुख आस्था रिजाल र आइपास नेपालका अछाम प्रमुख रमेश थापाले प्रस्तुति गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिकाका महिला शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।