जयगढ बजारमा भीषण आगलागीः सडक, पानी र दमकलको अभावले नियन्त्रमा ढिलाइ

अछाम । जयगढ बजारमा भएको आगलागी तीन घण्टासम्म नियन्त्रणमा आउन सकेको छैन । बजारको साँघुरो सडक, पानीको अभाव र एकमात्रै दमकलका कारण आगलागी नियन्त्रणमा आउन नसकेको बताइएको छ ।
“साँघुरो बाटोको कारण दमकल पनि जान सकेको छैन, आगलागी नियन्त्रण भएको छैन ।” प्रहरी प्रमुख भण्डारीले भन्नुभयो । लागी भएको स्थानसम्म पुग्नका लागि साँघुरो सडक भएकोले टाढैबाट पाइप जोडेर आगो निभाउने प्रयास भएको छ । तर त्यसको प्रभावकारिता निकै कम भएको स्थानीयको भनाई छ । आगलागी नियन्त्रण उन्मुख भएपनि पूरै नियन्त्रणमा नआएको स्थानीवासी तथा पत्रकार धनराज साउँदले जानकारी दिनुभयो ।
पानीको धारा, नदी वा पोखरी नजिक नहुँदा पनि पानी प्रयोगमा समस्या भएको बताइएको छ । नजिक पानी नभएकोले वडा नम्बर ४ को कैलाशखोला वा वडा नम्बर २ को जनालीकोटमा दमकल जानुपर्ने बाध्यता रहेको छ । जिल्लाभर एउटा मात्रै दमकल भएकोले पनि आगलागी नियन्त्रणमा थप समस्या भएको पाइएको छ । हावाहुरीले समेत आगलागी नियन्त्रणमा समस्या भएको बताइएको छ ।
अगालगीबाट जयगढ बजारमा अहिलेसम्म १२ पसलहरु जलेर नष्ट भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । बेलुकी करिब ७ बजेर ३० मिनेटमा आगलागी शुरु भएपनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र एउटा दमलकलले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बजारका घरहरुसँगै आगलागी बजार भन्दा तलको जंगलमा पसेपछि स्थानीय अझै त्रासमा रहेका भनाइ छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्थानीय र एउटा दमकललले आगो नियन्त्रणमा प्रयास भएपनि सफल हुन सकेको छैन । घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर जयगढ बजारको पुष्पराज शर्माको पसलबाट शुरु भएको आगलागीले बजारमा आगो फैलिएको थियो । कपडा, सुनचाँदी, घिउ, जडीबुडी पसलहरु र एक सार्वजनिक हलमा आगलागी हुँदा ठूलो क्षती भएको भएछ
बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारस्थित पुष्पराज शर्माले सञ्चालन गरेको आइएआइ सेन्टरबाट सिलिण्डर पड्किएर आगलागी भएको अछाम प्रहरीले जानकारी दिएको छ । जयगढ बजार बान्नीगढी जयगढ गाउँपालिकाको कार्यालयसँगै जोडिएको बजार हो ।