प्रावि तहका ९७ जना शिक्षकलाई अछाममा नियुक्ति

अछाम । शिक्षक सेवाबाट प्राथमिक तह (प्रावि) स्तरमा अछाम जिल्लामा स्थायी नियुक्ति भएका  शिक्षकहरूलाई आज एक कार्यक्रमका बीचमा नियुक्तिपत्र वितरण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई अछामको आयोजनामा अछाम बहुमुखी क्याम्पसको हलमा सपथ ग्रहण गराएर नियुक्ति पत्र दिइएको हाे । 

इकाई अछामका प्रमुख अम्बादत्त जोशीले पदस्थापना भएका प्रावि तहका शिक्षकहरूलाई सपथ ग्रहण गराउनुभएको थियो । स्थायी नियुक्ति पत्र प्राप्त भएपछि सम्बन्धित व्यक्तिले आफूले छनौट गरेकाे स्थानीय तहमा गएर दरबन्दी खाली भएको विद्यालयमा हाजिरी गर्नुपर्ने छ । नियुक्ति बुझेपछि पदस्थापना गरिएका शिक्षकहरू सम्बिन्धत स्थानीय तहमा जाने क्रममा रहेको बताइएको छ । 

सपथ ग्रहणका क्रममा जिल्ला शिक्षा समिति संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर लगायतको सहभागिता रहेको थियो । कुँवरले स्थायी शिक्षकलाई नियुक्तिपत्र हस्तान्तरणा गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन इकाईका प्राविधिक सहायक मदन बहादुर विष्टले गर्नुभएको थियो । 

इकाई अछामका अनुसार अछामका मंगलसेन नगरपालिकामा २२ जना, साँफेबगर नगरपालिका र रामाराेशन गाउँपालिकामा १५/१५ जना, मेल्लेख गाउँपालिकामा ११ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ८ जना, चाैरपाटी गाउँपालिकामा ७ जना, तुर्माखाँद गाउँपालिकामा ६ जना, कमलबजार नगरपालिकामा ५ जना, पञ्चदेवल विनायक नगरपालिका र ढकारी गाउँपालिकामा ४/४ जनाकाे दरबन्दी रहेकाे जनाएकाे छ । 

 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page