स्नातक तहमा नेपालीमा पनि प्रश्नपत्र आउँदै
अछाम । त्रिभुवन विश्वविद्यालयबाट लिइने स्नातक तहको परीक्षामा अंग्रेजीसँगै नेपालीमा पनि प्रश्नपत्र आउने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद् स्थायी समितिले अंग्रेजी र नेपालीमा प्रश्नपत्र लागु गर्ने बिहीबार निर्णय गरेको पाइएको छ ।
वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा तयारी गरिने सूचना तथा जनसम्पर्क शाखाले जानकारी दिएको छ । विश्वविद्यालयको शाखाले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो बर्षमा अंग्रेजी र नेपाली दुवै भाषमा प्रश्नपत्र लागु गर्ने भएको हो ।
विद्यार्थी लगायत अन्य सरोकारवालाहरुले समेत अंग्रेजी मात्रै नभएर नेपालीमा समेत प्रश्नपत्र सोध्नुपर्ने चर्को माग आइरहेको थियो । यसले विद्यार्थीहरुमा अंग्रेजीको प्रश्न नबुझे परीक्षा बिग्रने समस्या हट्ने प्रतिक्रियाहरु आएका छन् ।