विकास र समृद्दिमा खट्न कार्यकर्तालाई एमाले उपाध्यक्ष पौडेलको निर्देशन
साँफेबगर (अछाम) नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानममन्त्री विष्णु पौडेलले विकास र समृद्धिका लागि आगामी निर्वाचनमा एकल बहुमत आउने गरेर पार्टीका कार्यकर्ता खट्न निर्देशन दिनुभएको छ । अछाम सदरमुकाम मंगलसेनमा एमाले अछामले आयोजना गरेको जिल्लास्तरिय प्रशिक्षण कार्यक्रममा तीनै तहको निर्वाचनमा एकल बहुमत ल्याउन सबै सक्रिय भएर लाग्न निर्देशन दिनुभएको हो । देशमा स्थायी शान्ति, विकास र समृद्धि ल्याउन आगामी निर्वाचन केन्द्रित भएर पार्टीले जिम्मेवार नेता कार्यकर्तालाई टोलसम्म खटाएको उपाध्यक्ष पौडेलको भनाइ छ ।
राजनीतिक भौतिक र वैचारिक रुपमा एमाले अन्य पार्टी भन्दा अग्रणी भएको भन्दै उपाध्यक्ष पौडेलले राष्ट्र र जनताको पक्षमा रहेको भनाइ राख्नुभयो । राष्ट्र र जनताको पार्टी भएकोले देशभित्र र बाहिरबाट एमालेमा प्रहार भइरहेको भन्दै त्यसैको निरन्तरतामा पार्टीमा विभाजन गरिएको भनाइ राख्नुभयो । एमालेको दृढ संकल्पित र स्पष्ट विचार भएको नेतृत्वसँगै जनताको साथ भएकोले सक्षम पार्टी भएको उहाँको भनाइ छ ।
एमाले बाहेकको सरकार भए देशमा संकटको शुरुवाती हुने भन्दै जनताको पक्षमा कुनै काम नभएको भनाइ राख्नुभयो । उहाँले एमाले सरकारका बेलामा योजनाहरुलाई अन्य सरकारले निरन्तता दिनुको विकल्प नभएको दावी गर्नुभयो । जनताका जनजिविकाका सवाललाई सम्बोधन गर्न एमालेको सरकार नै आवश्यक हुने भएकोले सोही अनुसार कार्यकर्ता पार्टीको योजना अनुसार खट्न पौडेलको निर्देशन छ ।
वर्तमान संविधान एमाले अध्यक्ष केपी ओलीकै कारण निर्माण भएको भन्दै उपाध्यक्ष पौडेलले एमाले संविधान निर्माणको नेतृत्वकर्ता रहेको भनाइ छ । “ओली लचिलो भएको भए दोश्रो संविधानसभा पनि संविधान नबनाएर बिघटन हुन्थ्यो ।” पौडेलले भन्नुभयो । एमालेको नेतृत्वमा संविधान बन्यो र हरेक जनताको अधिकार सुनिश्चितसँगै समाजवादको बाटो जान सहज भएको भनाइ राख्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय सचिव लेखराज भट्टले मिसन ग्रासरुटको उद्धेश्य अनुरुप सुदूरपश्चिम प्रदेशमा पार्टी केन्द्रित भएको भन्दै यसलाई उत्तम उपयोग गर्नुपर्नेमा भनाइ राख्नुभयो । यस्तै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले मिसन ग्रासरुटबाट पार्टीलाई सबै पक्षबाट एकताबद्ध र बलियो बनाएर जानेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले समेत मन्तव्य राख्नुभयो ।
अछामबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने नेता, जिल्ला कमिटी, एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, जनसंगठनका केन्द्रिय र जिल्ला अध्यक्ष, पालिका कमिटीका अध्यक्ष, वडा कमिटीका अध्यक्षलगायतका कार्यकर्ता सहभागिता रहेको थियो । अछामको प्रशिक्षणपछि उपाध्यक्षसहितको केन्द्रिय, प्रदेशस्तरका नेताहरु मिसन ग्रासरुट अभियानकै क्रममा डोटीतिर जानुभएको छ ।
केही तस्विरहरूः