अछाम केन्द्रका उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाट हराए, पुनः परिक्षा लिइँदै
मंगलसेन । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको एक विषयको उत्तरपुस्तिका हराएकाे छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अछामबाट गएकाे स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हाे ।
परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको भनेर रातोपाटीमा समाचार प्रकाशित छ । अछाम बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट गएका उत्तरपुस्तिका हराएको बताइएकाे छ । स्नातक तह प्रथम वर्षको परीक्षा गएकाे वैशाख र असोजमा गरेर दुइ पटक सञ्चालन गरिएकाे थियो ।
उत्तरपुस्तिका हराएको विषयमा परीक्षा नियन्त्रण कार्यालयले आन्तरिक छानविन थालिएको बताइएको छ । उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा पनिकाले आन्तरिक सर्कुलरसमेत जारी गरेको उल्लेख गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीका कारण यस्तो अवस्था आएको बताइएको छ । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरिया हुँदै काठमाण्डाै पुगेका उत्तरपुस्तिका हराएकाे हाे ।
उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा लिने भएकाे छ । यही चैत २१ गते बिहान ७ बजेबाट १० बजेसम्म परीक्षा सञ्चालन हुने गरेर तयारी थाल्न जानकारी आएकाे बताइएको छ । त्यसै अनुसार अछाम बहुमुखी क्याम्पस केन्द्रले विद्यार्थीलाइ पुनः परीक्षाका लागि सूचना जारी गर्ने तयारी गरिरहेको छ ।
यसअघि स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको भनेर समाचार आएको थियो । गत कात्तिकको पहिलो साता भएको जनसङ्ख्या विषयको परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण गर्नु अघि नै हराएको हो भनेर रातोपाटी डटकममा खबर प्रकाशित भएको छ ।