नेटवर्किङको सञ्जालमा जागिरको जञ्जाल, ठगी आरोपमा २ पक्राउ
शिवराज ढुंगाना, अछाम,
ढकारी गाउँपलिका–३ सावाकी १८ वर्षीया अप्सरा साउँदलाई लगातार तीन महिना जागिर पाउने र पैसा कमाउन सक्ने भन्दै फोन आइरह्यो । डोटी जिल्लाबाट तुल्छा कठायतले लगातार फोन गरेपछि उनले आफ्ना बुवासँग कुरा सुनाइन् । शुरुमा अप्सराका बुवा सहमत नभएपनि अन्तमा २० हजार ऋण निकालेर छोरीलाई दिनुभयो । अप्सराले सोही रकम तीन महिनाअघि आरएनसी ट्रेडिङ कम्पनीका प्रतिनिधिलाई मंगलसेन आएर रकम बुझाइन् । तीन महिनादेखि जागिरको आशमा रहेकी अप्सरालाई कम्पनीका प्रतिनिधिले अन्तमा रकम फिर्ता नहुने र आफूहरु कैलालीतिर जाने भनेपछि ठगिएको महसुस भयो ।
साथीले २० हजार रकम तिरेपछि मासिक १६ हजार कमाइ हुने जागिर पाएको भनेपछि बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ का १८ वर्षीय अमरसिंह मलालले बुवामार्फत आफन्तसँग २० हजार ऋण लिए । मलाल घरबाट दुई दिन लाएर जागिर पाउन २० हजार रकमसहित अछाम सदरमुकाम मंगलसेन पुगे । आरएनसी ट्रेडिङ प्रा.लि.का प्रतिनिधिलाई रकम बुझाए तर न जागिर पाए न रकम फिर्ता । कम्पनीका प्रतिनिधिले आ–आफ्नो घरमा जाउ भनेपछि आफू ठगिएको थाहा पाए ।
१२ कक्षा उत्तिर्ण गरेर घरमै रहेकी बाजुरा जिल्लाकै स्वामीकार्तिक खापर गाउँपालिका–३ की १८ वर्षीया विनिता जैसीले २० हजार तिरेपछि जागिर पाउने कुरा साथीबाटै जानकारी पाइन् । घरबाट २५ हजार रकम ल्याएर गएको फागुन २५ देखि विनिता अछाम मंगलसेनमा छन् । २० हजार रकम कम्पनीमा बुझाएकी विनितासँग पाँचहजार सबै खर्च भइसक्यो । जागिरको कुनै टुंगो नलागेपछि खर्च रकम सकिएर घर फर्किन सकस भइरहेको बताइन् ।
जागिरको लोभमा आरएनसी ट्रेडिङ प्रा.लि.नामक कम्पनीले अछाममा युवायुवतीबाट लोभलालचमा उठाइरहेको घटना बाहिरिएको छ । कम्पनीका प्रतिनिधिहरुले अछाममा २० वर्षमुनिका युवायुवतीहरुलाई जागिरको नाममा रकम असुली रहेको पाइएको हो । कम्तिमा १६ हजारदेखि ६० हजारम्म मासिक तलब पाउने भन्दै कम्पनीका प्रतिनिधिहरुले एक जनाबाट २० हजार रकम असुल गरेको घटना बाहिरिएको छ । कम्प्युटर, डाटा, फाइल तथा कागजपत्रको काम गर्ने भन्दै अछाम र बाजुराका युवायुवतीहरुबाट रकम उठाइएको पीडित पक्षको भनाइ छ । ठगिनेमा एक अर्काका नजिकका व्यक्ति रहेको बताइएको छ ।
प्रालिले रकम बुझाएर तालिमपछि जागिर हुने भन्दै महिनौसम्म होटलका कोठामा राखेको र अन्तमा आफूहरुलाई अलपत्र पारेको ढकारी गाउँपालिका–३ की शर्मिला बुढाको भनाइ छ । “पाँच महिनादेखि जागिर दिन्छु भनेर राखियो तर अहिले कैलाली जाने भए जाउँ, नभए आ–आफ्ना ठाउँमा जाउ भन्यो ।” शर्मिलाले थप्नुभयो । “घरबाट ऋण ल्याएर दिएका छौं, अब कसरी फर्केर जाने भन्नेमा छौं ।” २० हजार रकम बुझाएपछि एउटा कोठामा राख्ने बाहिर सम्पर्क गर्न नदिने र फोनबाट अन्यलाई २० हजार रकम जम्मा गराउन लाउने पीडित पक्षको भनाइ छ । कम्पनीको बारेमा बुझ्नको लागि मात्रै आफूहरुले तीनसय रुपियाँ बुझाउन परेको पीडितहरुको भनाइ छ । २० हजार रकम मध्येमा आधा रकम होटलवास र आधा रकम तालिमको भनेर लिइएको युवायुवतीहरुको भनाइ छ ।
पढाइसँगै कम्तिमा १६ हजार मासिक कमाइ हुने भएपछि अभिभावकसँग रकम मागेर उनीहरुले कम्पनीका प्रतिनिधिलाई बुझाएर फसेका हुन् । जागिरसँगै एकजनाले दुई जना अन्य व्यक्ति सम्पर्कमा ल्याएर २० हजार रकम बुझाएमा एक हजार ५० रुपियाँ खातामा आउने लोभ समेत आफूहरुलाई देखाइएको पीडित पक्षको भनाइ छ । जागिर पाइन ढिलाइ भएपछि बाजुराका १० जना भन्दा बढी युवायुवती घर फर्किसकेका मयालको भनाइ छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान निवासी भद्रा कडायतले पनि रकम बुझाउनुभयो । तर अहिलेसम्म जागिर र आफ्नो बुझाएको रकम समेत नपाएपछि ठगिएको अनुभव गर्नुभएको छ ।
ऋण निकालेर कम्पनीलाई तिरेको अन्त्यमा आफूहरुलाई मंगलसेनमा खानबस्न र घर फर्किन समस्या रहेको ठगिएकाहरुको भनाइ छ । जागिर हुन्छ भनेर ऋण ल्याएर ब्याज समेत तिर्न नसकेकाहरुले रित्तो हात घर फर्किदा घरपरिवारमा समेत नराम्रो सन्देश जानेमा युवायुवतीहरुको बुझाइ छ । “जागिर खाउँ भनेर रकम ल्याएर आइयो तर पाँच पैसा हातमा छैन, घर पनि कसरी जाउँ भन्ने लागेको छ ।” शर्मिलाको भनाइ छ । यसरी जागिरको लोभमा रकम बुझाउने अधिकाँस किशोरीहरु बढी छन् ।
कम्प्युटरमा काम गर्ने, फाइल मिलाउने, तथ्यांक संकलन गर्ने जागिर भनिएपनि आफूहरुलाई लामो समयसम्म भुल्याएको पीडित पक्षको भनाइ छ । “शुरुमा जागिर भनियो तर यहाँ आएपछि व्यापार गर्नुपर्छ, व्यापार गरेर राम्रो कमाइ हुन्छ भनेर हामीलाई कन्भिन्स गराउने काम भयो ।” बाजुराकी विनिताको भनाइ छ । जागिर कस्तो खालको हो, कसरी गर्नुपर्छ भन्ने प्रष्ट रुपमा आफूहरुलाई नभनेको उनीहरुको भनाइ छ ।
अछाम र बाजुराका युवायुवतीहरु यस प्रकारको ठगीमा परेको पीडितहरुको भनाइ छ । कतिपय २० हजार बुझाएर फर्केर आउने गरेर घर गएका बताइएको छ । अछाममा ५० जना भन्दा बढी व्यक्तिहरुले जागिरको लोभमा २० हजार रकम दिएको बताइएको छ । जागिरका लागि २० हजार नगद रकम कम्पनीका प्रतिनिधिहरुलाई बुझाएका स्थानीयलाई कुनै रसिद नदिएको र रजिरष्टरमा रकम मात्र टिपेको पीडित पक्षको भनाइ छ । “नौ जना जतिलाई रकम तिरेको बिल दिएको छ अरुलाई दिइएको छैन ।” विनिताको भनाइ छ ।
ठगी आरोपमा दुई पक्राउ
अनाधिकृत रुपमा नगद रकम असुल गरेको भन्दै उक्त कम्पनीको मंगलसेन शाखामा कार्यरत दुई जनालाई अछाम प्रहरीले पक्राउ गरेको छ । प्रलोभन देखाएर लोभलालचमा पारेर ठगी धन्दामा दुई जना नियन्त्रणमा रहेको अछाम प्रहरीले जानकारी दिएको छ । कम्पनीको प्रतिनिधिको रुपमा रहेका अनुष्का ऐरी र प्रिति ऐडी क्षेत्रीलाई अछामले ठगी गरेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
जागिरको लाभमा प्रतिव्यक्ति २० हजार रकम उठाएर ठगी गरेको भन्दै प्रहरीमा उजुरी आएपछि दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको अछाम प्रहरीका सूचना अधिकारी इनिष्पेक्टर कैलाश विष्टले जानकारी दिनुभयो । कम्पनीका कागजात समेत नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको अछाम प्रहरीको भनाइ छ । उत्पादन सामग्री बेच्ने गरेर जागिर मिल्ने भन्दै प्रतिव्यक्ति २० हजार गरेर चारलाख रकम उठाएको पाइएको इनिष्पेक्टर विष्टको भनाइ छ ।
आफूहरु ठगिएको भन्दै अछाम र बाजुराका गरेर १२ जनाले जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएका छन् । आफ्नो सम्पूर्ण रकम फिर्ता पाउनुपर्ने र दोषिलाई हदैसम्मको कार्वाही गर्नुपर्ने सामुहिक माग गरेका छन् । “हाम्रो सबैको पैसा फिर्ता गर्नुपर्यो र कडा कार्वाही हुनुप्यो भन्ने माग छ ।” अप्सराको भनाइ छ । कम्पनीको इजाजत ल्याउन आफूहरु कैलाली जाने र एक÷डेढ वर्षसम्म लाग्ने सक्ने भनेपछि आफूहरु ठगिएको भन्दै कानुनी प्रक्रियामा गएको अप्सराको भनाइ छ ।
जागिरको नाममा युवायुवतीबाट रकम असुलेर ठगी गर्नेलाई हदैसम्मको कार्वाही गर्नुपर्ने माग उठ्न थालेको छ । पीडित पक्षको रकम फिर्ता गर्न सहयोग गरिरहेका विप्लव नेतृत्वको नेकपाका पश्चिम जिल्ला विशेष सचिव निरक शाहीको भनाइ छ । गाउँघरमा विभिन्न नाममा सोझासाझा नागरिकलाई हुने यस्ता ठगीबाट नागरिक सचेत हुनुपर्नेमा शाहीको भनाइ छ ।