मिसन ग्रासरुट अभियानका क्रममा एमाले अछामद्धारा पुस्तक प्रकाशन
मंगलसेन, नेकपा (एमाले) अछामले मिसन ग्रासरुट (पार्टी सुदुढिकरण तथा विस्तार अभियान) लाई थप प्रभावकारी बनाउन पुस्तक प्रकाशन गरेको छ । ८७ पृष्ठको पुस्तकमा ६३ वटा विषयवस्तु राखेर अछाम दर्पण नामक पुस्तक प्रकाशन गरिएको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
पुस्तकमा मिसन ग्रासरुटको उद्धेश्य, कार्यदिशा र कार्ययोजना गरेर नौवटा विषयवस्तु राखिएको छ । यस्तै ११ विषयवस्तु राखेर मिसन ग्रासरुट प्रशिक्षणका बुँदाहरु राखिएका छन् । पार्टीको स्कुल विभागद्धारा तयार पारिएको आधारभूत, माध्यामिक र उच्च तहमा प्रशिक्षणका निर्धारित पाठ्यक्रम समावेश गरिएको छ । जस मध्ये आधारभूत तहमा ११÷११ र उच्च तहको प्रशिक्षणमा १८ विषयवस्तु समेटिएको अध्यक्ष बोहराको भनाइ छ ।
पुस्तकमा ग्रासरुट अभियानका क्रममा अछाममा समन्वय, अनुगमन र स्थानीय तहमा संयोजन गर्ने टोलीको नामथर, पदीय जिम्मेवारी र सम्पर्क नम्बर राखिएको छ । पुस्तकमा अभियानका लागि केन्द्र, प्रदेश र जिल्लाबाट स्थानीय तह, वडा र टोलसम्म खटाइएका व्यक्तिहरुको सम्पर्क नम्बरसहितको विवरण राखिएको एमाले अछामका सचिव भीमबहादुर रावल (कालोटोपी) को भनाइ छ । पुस्तकमा स्थानीय तह २०७९ मा एमालेबाट निर्वाचित जनप्रतिनिधि र प्राप्त मतसहितको सम्पर्क नम्बर राखिएको छ ।
पुस्तकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ र २०७९ मा एमालेबाट प्रतक्ष्यमा विजयी र समानुपातिकतर्फको मतपरिणाम समावेश गरिएको छ । यस्तै जनसंगठन र पेसागत प्रतिनिधि, सुदूरपश्चिम–काठमाण्डौ, अछाम–काठमाण्डौ प्रदेश सम्पर्क कमिटीको विवरण र तस्विरहरु राखिएका छन् ।