ठाँटीमा एकसय ७२ को निशुल्क आँखा परीक्षण
अछाम । मेल्लेख गाउँपालिकाको ठाँटीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर एकसय ७२ जनाले सेवा लिएका छन् । मेल्लेख गाउँपालिका–३ ठाँटीका आँखामा समस्या भएका व्यक्तिले सेवा लिएका हुन् ।
आँखा सेवा लिनेमा एकसय १२ महिला र ५८ जना पुरुष रहेका आँखा उपचार केन्द्र, साँफेका इन्चार्ज रविना मल्लले जानकारी दिनुभयो । आँखा जाँच गराएका मध्ये ३९ जनाको आँखाको अप्रेसन गर्नुपर्ने अवस्था आएको मल्लको भनाइ छ ।
मेल्लेख गाउँपालिकाको सहयोग र नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा उपचार केन्द्र साँफबगरकाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर गरिएको हो । आर्थिक र शारीरिक रुपमा आँखा परिक्षण गर्न बाहिर जान नसक्नेका लागि घरछेउमै शिविर मार्फत स्वास्थ्य सेवा दिएको गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदको भनाइ छ ।
वडा अध्यक्ष नौले रावलको अध्यक्षतामा भएको उद्धघाटनमा सम्पन्न शिविरको सञ्चालन वडा सचिव तथा स्वास्थ्य इन्चार्ज नरेन्द्र बहादुर शाहले गर्नुभएको खबर प्राप्त भएको छ ।