रेडक्रस अछामको साधारणा सभा मंगलसेनमा सम्पन्न
अछाम । नेपाल रेडक्रस सोसाइटी अछाम शाखाको ३१ औं साधारण सभा सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले विपद्का बेलामा रेडक्रसले महत्वपूर्ण काम गरेको बताउनुभएको छ । विपद्संगै नेपालमा भएको सशस्त्र द्धन्द्धका क्रममा समेत रेडक्रसले धेरै नागरिकलाई बचाएको भनाई राख्नुभयो । साम्प्रादायिक रुपमा अप्ठेरो अवस्थामा समेत रेडक्रसले विपद्मा परेका व्यक्तिहरुको राहत र पुर्नस्थापनाका क्षेत्रमा ठूलो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
खाली हात रहेको रेडक्रसलाई सबैले सहयोग गरेमा विपद्मा धेरैले सहयोग पाउने भएको सबै स्थानीय तहले रेडक्रसलाई सहयोग गर्न बोहराको आग्रह थियो । नगर प्रमुख बोहराले आफू सामाजिक व्यक्तित्व भएकोले रेडक्रस जस्ता मानविय संस्थालाई आफ्नो सहयोग रहिरहने समेत भनाइ राख्नुभयो ।
कार्यक्रममा विशिष्ठ अथिति प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले रेडक्रस मानविय क्षेत्रमा विपद् र रक्तसञ्चारमा सेवा प्रदान गरिरहेको भन्दै सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने भनाइ राख्नुभयो । अछाममा समेत रेडक्रसले राम्रो काम गरेको भन्दै स्थानीय तह, प्रदेश र संघले रेडक्रसलाई सहयोग गर्न जोड दिनुभयो । कार्यक्रममा रेडक्रस सोसाईटका पूर्व केन्द्रीय सदस्य बृकेशसिंह बोगटी, नेपाल पत्रकार महासंघ अछामका सल्लाहकार शिवराज ढुंगानाले शुभकामना मन्तव्य सहित सुझाव राख्नुभएको छ ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी अछामका सभापति रत्नप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारी, मंगलसेन नगरपालिकासहित केही स्थानीय तहले रेडक्रसलाई सहयोग गरिरहेको भन्दै धन्यवाद दिनुभयो । सभापति ढुंगानाले रेडक्रसले विपद्का समयमा काम गर्ने भएकोले सबैसंग समन्वय गरेर उद्धार, राहत र पुर्नस्थापनाका क्षेत्रमा काम गर्न चाहिरहेको भनाइ राख्नुभयो । रेडक्रसको अभियानमा राम्रो समन्वय र सहकार्य गरेको भन्दै मंगलसेन नगरपालिका, रेडक्रसको पञ्चदेवल विनायक उपशाखा र साँफेबगर उपशाखालाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
साधारण सभाको सञ्चालन मन्त्री ध्रुवकुमार शाहीले गर्नुभएको कार्यक्रममा अथितिलाई स्वागत उपसभापति जानकी बोहराले गनुभएको थियो । औपचारिक कार्यक्रमपछि भएको बन्दसत्रले सांगठानिक र आर्थिक प्रतिवेदन समेत अनुमोदन गरेको बताइएको छ । साधारण सभामा अथितिहरूसँगै जिल्ला समिति, उपशाखाका सभापति र प्रतिनिधि, रेडक्रस कर्मचारी र रेडक्रस अभियानकर्मीहरूको सहभागिता रहेको थियो ।
अछाम जिल्लामा २०३४ सालमा स्थापना भइ २०३५ सालबाट संस्थागत रुपमा काम थालेको रेडक्रस अछाममा हालसम्म १६ उपशाखा रहेका छन् । जिल्लामा आजिवन सदस्यताको संख्या एकहजार २४८ र साधारण सदस्य १३३ जना रहेका छन् ।