अछाम बहुमुखी क्याम्पसले यसरी बाँड्यो क्युएए प्राप्तिको खुसीयाली (हेर्नुस् फोटोहरू)
अछाम । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत (क्युएए) प्राप्त गरेपछि अछाम बहुमुखी क्याम्पसले शुभकामना बाँडेको छ । क्याम्पसले एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम मंगलसेनमा आयोजना गरेर एकअर्कामा बधाईसहितको शुभकामना कार्यक्रम गरेको हो ।
शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अथिति पूर्वसांसद यज्ञबहादुर बोगटीले गुणस्तर सुनिश्चितता प्रत्यायन क्याम्पसले प्राप्त गरेपछि थप जिम्मेवारी थपिएको बताउनु भएको छ । क्याम्पसको भौतिकसँगै आगामी दिनमा थप गुणस्तरियतामा बढाउँदै लैजानुपर्ने भनाई सांसद बोगटीको छ ।
प्रविधिको प्रयोग, प्राध्यापकहरुमा क्षमता अभिवृद्धिसँगै बजारमा बिक्ने जनशक्ति उत्पादनमा गर्न सांसद बोगटीको जोड थियो । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका बोगटीले शिक्षा र स्वास्थ्य क्षेत्रमा अहिलेपनि थुप्रै समस्याहरु रहेपनि त्यसको समाधानमा सबै मिलेर अन्तय गर्नुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहराले जिल्लाका सरोकारवालाको सहयोग र आफुहरुको निरन्तरताले क्याम्पसको स्तर वृद्धिमा सफलता पाएको बताउनुभयो । अछाम बहुमुखी क्याम्पसलाई जिल्लामा उच्च शिक्षाको केन्द्र बनाउन प्रत्यनमा सबै लाग्नुपर्ने भनाइ राख्नुभयो । विदेशिने लहरले अहिले विद्यार्थीको अभाव देशभर भइरहेको बेलामा आगामी दिनमा अछाम बहुमुखी क्याम्पसमै पढ्न आउने वातावरण तयार गर्न आफूहरु सक्रिय रहेको भनाइ राख्नुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँर, नेपाली काँग्रेसका महासमिति सदस्य पदमराज अधिकारी, एमालेका जिल्ला अध्यक्ष चन्द्र बोहरा, माओवादी केन्द्रका कार्यालय सचिव कमल थापा, राप्रपाका विष्ट, नेकपाका लोकेन्द्र सीले शुभकामना मन्तव्य राख्नुभयाे ।
यस्तै मंगलसेन नगरपालिका उपप्रमुख संगीता रावल सोडारी, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाही, ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभयो । मन्तव्यका क्रममा अथितिहरुले क्याम्पस परिवारलाई बधाई दिँदै आगामी दिनमा थप प्रगतिको शुभकामना दिएका थिए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष यज्ञराज ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको औचित्यका बारेमा क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले जानकारी गराउनुएको थियो । सहायक क्याम्पस प्रमुख ध्रुब कुमार शाही सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत र कला प्रस्तुत गरेका थिए ।
औपचारिक कार्यक्रम अघि बाजागाजा, नाराबाजी सहित सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारी, विद्यार्थीहरु लगायत सरोकारहरुले मंगलसेन बजार परिक्रमा गरिएको थियो । बाजागाजासँगै विद्यार्थीको नाराबाजीका साथ क्याम्पस अगाडिबाट शुरु गरिएको र्याली मंगलसेनको मुख्य बजार हुँदै बैरागीधारा, खुलामञ्च भएर पुनः क्याम्पसमा पुगेको थियो ।
२०७२ सालबाट गुणस्तर सुनिश्चितता प्रत्यायनको आरम्भ गरेर विश्वविद्यालय अनुदान आयोगको पटक पटक अनुगमन तथा निरिक्षणबाट २०८० माघ माहिनमा क्याम्पसलाई प्रमाणपत्र प्रदान गरेको थियो । आठ वर्षको अवधिमा अछाम बहुमुखी क्याम्पसले भौतिक र शैक्षिक रुपमा ठूलो सफलता पाएको विश्लेषण गर्न थालिएको छ ।
तस्बिरहरूः मिराकलपाटी डटकम