दुई महिला पुरिएर मृत्यु भएको घटनास्थलमा मंगलसेनका प्रमुख पुगे

अछाम । माटोको ढिस्को भत्किएर दुई महिला मृत्यु भएको घटनास्थलमा मंगलसेन नगरपालिकाका प्रमुख पनि पुग्नुभएको छ । नगर प्रमुख बोहराले मृतक र घटनास्थलका बारेमा जानकारी लिनुभएको छ ।
आफ्नै नगरको वडाका दुई महिलाले अकालमा ज्यान गुमाएकोमा निकै दुःखी प्रमुख बोहरा भएको बताउनुभएको छ । मृतक दुबै जनामा श्रद्धाञ्जली व्यक्त गर्दै शोकमग्न परिवारमा धैर्यता सहित समवेदना प्रकट गर्नुभएको छ । बोहरासँगै मंगलसेन नगरपालिका–३ का वडा अध्यक्ष बृख बहादुर बोगटी, ४ पूर्व वडा अध्यक्ष पदम बहादुर धामी लगायत रहनुभएको थियो ।
घर पोत्न रातो माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका दुई महिलाको आज दिउसो माटोको ढिस्कोले पुरिएर घटनाथलमै ज्यान गएको हो । कलिलै उमेरमा दुई महिलाको अकालमा ज्यान गएपछि गाउँ निकै शोकमग्न रहेको छ ।
माटो खन्न वा अन्य जोखिमपूर्ण स्थानमा कसैले पनि नजान नगरप्रमुख बोहराले सबैमा आग्रह गर्नुभएको छ । जोखिमयुक्त स्थानमा दुर्घटना हुने भएकोले यसबाट सजग रहनका लागि उहाँको आग्रह रहेको छ ।
दशैंका बेला यस क्षेत्रका महिलाहरू रातो माटो ल्याउनका लागि ठूलो भ्याङ पारिएको ठाउँ जोखिमपूर्ण स्थानमा माटो खन्ने गरेका हुन्छन् ।