वैद्यनाथ कोटिहोममा चार करोड दान संकलन
अछाम । वैद्यनाथ धाममा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा चार करोड रकम दान संकलन भएको छ । चार करोड मध्ये २ करोड रकम खर्च भएको कोटिहोम आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिनुभयो । कोटिहोमका क्रममा १५ लाख भन्दा बढी मूल्य बराबरको जग्गा दान प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।
हालसम्म बैंकमा १ करोड ७० लाख २६ हजार बचत रहेकोमा ४९ लाख रुपैंया तिर्न बाँकी छ । ८० लाख भन्दा विभिन्न पालिका तथा बैंक वित्तिय संस्था, कलश ठेली, प्रवासबाट अझै १० लाख भन्दा बढी रकम आउने सुनिश्चित रहेको उपाध्यायको भनाई छ । उठ्न बाँकी रहेको रकम एक हप्ता भित्रै प्राप्त भएर सम्पूर्ण आयव्य सार्वजनिक गरिने महासचिव उपाध्यायले बताउनुभयो । दुई हप्ताभित्र सम्पूर्ण आयव्य सार्वजनिक गर्नको लागि जिल्ला विकास समितिका पूर्व सभापति एवम् कोटिहोमका वरिष्ठ उपाध्यक्ष भरत कुमार स्वारको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।
फागुन १० गतेबाट शुरू भएको कोटिहोम फागुन २५ गते समापन भएपछि आइतबार समीक्षा गरिएको हो । कोटिहोम मुल आयोजक समितिका अध्यक्ष, एवम् अछाम-१ का प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले कोटिहोमले वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, वैद्यनाथलाई नेपालका चार क्षेत्रमा घोषणाको लागि आधार तयार भएको भनाइ राख्नुभयो । कुँवरले यहाँको लोकसंस्कृति, लोककला, लोकगीतको संरक्षण र प्रवर्द्धन कोटिहोमबाट मद्दत पुगेको भनाइ राख्नुभयो । वैद्यनाथलाई नेपालका चार क्षेत्रमा घोषणाको लागि नेपाल र भारतका विद्धानहरुसँग चाँडै बहस गर्ने योजना रहेको सुनाउनुभयो ।
समीक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वैद्यनाथ कोटिहोमका वरिष्ठ उपाध्यक्ष एवम् आर्थिक समितिका संयोजक मेघराज खड्का, वरिष्ठ उपाध्यक्ष भरतकुमार स्वार, उपाध्यक्ष एवम् साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवर, उपाध्यक्ष एवम् साँफेबगर नगरपालिका निर्वतमान प्रमुख कुलबहादुर कुँवर, उपाध्यक्ष वैद्यनाथ धाम पर्यटन विकास व्यवस्थापन समितिका अध्यक्ष खडक खड्का लगायत कोटिहोमका पदाधिकारी, उपसमितिका संयोजक लगायतको सहभागिता रहेको थियो ।