भूकम्प क्षतिको पुर्ननिर्माण र पुर्नस्थापना सरकारको प्राथमिकतामाः गृहमन्त्री लेखक

अछाम । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुर्ननिर्माणमा सरकारले तीव्रता दिएको बताउनुभएको छ । सदरमुकाम मंगलसेनमा भूकम्पिय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापनाका क्रममा सो कुरा बताउनु भएको हो ।

गएका वर्षहरुमा डोटी, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितको पुर्ननिर्माण र पुर्नस्थापनाका कामहरुमा तीव्र रुपमा काम भएको भनाइ राख्नुभयो । “प्रधानमन्त्री ज्यू पनि भूकम्प लगायतका विपतका क्षेत्रका काममा तीव्रता दिनुभएको छ ।” मन्त्री लेखकले भन्नुभयो । अघिल्लो सरकारले भूकम्पको क्षतीमा काम नगरेका कारण आवश्यक कानुन, नीति मापदण्ड र बजेट व्यवस्थापन गरेर लाभग्राहीको काम द्रुत गतिमा अघि बढेको भनाइ उहाँको छ ।

अछाम, बझाङ र जाजरकोटमा जिल्लामा कार्यालय नै स्थापना गरेर निजी घरहरुको पुर्ननिर्माण र पुर्नस्थापनाका काम अघि बढेको मन्त्री लेखकको भनाइ छ । भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता बापत प्रतिघर ५० हजार प्रदान गरिएको छ ।

फरक प्रसङ्गमा मन्त्री लेखकले नेपाली जनताबाट विस्थापित भइसकेको राजतन्त्र कुनै हालतमा फिर्ता नहुने भनाइ राख्नुभयो । “केही मान्छेहरु राजतन्त्र भनिरहेका छन्, लोकतन्त्रको कुनै विकल्प हुँदैन, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो ।” मन्त्री लेखकले भन्नुभयो “लोकतन्त्र फालेर कुनै तानाशाही शासन नेपाली जनताले ल्याउदैन ।” लोकतन्त्रका विरुद्धमा षड्यन्त्रका पक्षमा नेपाली जनता नभएको भन्दै उहाँले लोकतन्त्रवादीहरुले एकजुट भएर त्यसका विरुद्धमा उभिने भनाइ मन्त्री लेखकको भनाइ छ ।

लोकतन्त्रको व्याख्या गर्दै मन्त्री लेखकले नेपालको लोकतन्त्रमा राजालाई समेत संविधान प्रद्धत अधिकार उपभोग गरिरहेकोले यसलाई कमजोरी नठान्न पनि मन्त्री लेखकको चेतावनी थियो । लोकतन्त्र आफ्ना कुरा राख्न पाइने भएपनि त्यसमा कुनैपनि आलोचना पनि सभ्य, सुसंस्कृत र मर्यादित हुन जरुरी भएको भन्दै लोकतन्त्र अनुशासनको पद्धति रहेको उहाँको भनाइ छ ।

सरकारको स्थायित्वको लागि दुई ठूला दलहरु मिलेर देशमा काम गरिरहेको भनाई मन्त्री लेखकको भनाई छ । वर्तमान सरकारले नागरिकका पक्षमा काम गरिरहेको भन्दै अर्थतन्त्र लयमा फर्किन लागेको मन्त्री लेखकको दावी रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page