तीन जिल्लाका भूकम्प पीडितका लागि अछाममा कार्यालय स्थापनाः गृहमन्त्रीद्वारा उद्घाटन

अछाम । भूकम्प पीडितहरुको निजी घर निर्माणमा तीन जिल्लाको काम गर्नेगरी अछाममा भूकम्पिय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापनाका गरिएको छ । एक औपचारिक कार्यक्रमका बीचमा नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कार्यालयको आज शनिबार उद्घाटन गर्नुभएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा इकाइ कार्यालय रहने गरेर अछाम, डोटी र बाजुरा जिल्लाका लागि कार्यालय स्थापना गरिएको हो । इकाइ कार्यालयले भूकम्प पीडित लाभग्राहीका लागि समन्वयको भूमिका खेल्ने छ । कार्यालयले स्थानीय तह, प्रदेश र संघका बीचमा समन्वयको भूमिका खेल्ने बताइएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भिष्मकुमार भुसालले इकाइले तीन जिल्लामा गर्ने काम, त्यसको प्रक्रिया र लाभग्राहीको बारेमा जानकारी दिनुभयो ।
कार्यालयको स्थापनासँगै हाललाई कार्यालय सञ्चालनका लागि तीन जना कर्मचारी समेत नियुक्त गरिएको छ । स्थानीय तहमा खटिने गरेर केही दिनमै कर्मचारी पठाइने कार्यकारी प्रमुख भुसालले जानकारी दिनुभयो । लाभग्राहीको क्षति संकलनदेखि रकम वितरणसम्मको अधिकार स्थानीय तहलाई दिइएको छ । भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माण अन्तर्गत पहिलो किस्ताबापत प्रतिघर ५० हजार प्रदान गरिएको छ । साे रकम गृहमन्त्री लेखकले लाभग्राहीलाइ हस्तान्तरणा गर्नुभएकाे हाे ।
इकाइ स्थापनाका क्रममा गृहमन्त्री रमेश लेखकसँगै अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, प्रदेशसभा सदस्य मानबहादुर रावल, पूर्व सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, अछाम, बाजुरा र डाेटीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्राधिकरणका कार्यकारी प्रमुख भुसालको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्री लेखक, अछाम २ का सांसद पुष्पबहादुर शाह, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा, एमाले अछामका अध्यक्ष चन्द्र बाेहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तव्य राख्नुभएको थियो ।