वैद्यनाथको मुख्य हवनकुण्डमा आगलागी

मंगलसेन । साँफेबगर नगरपालिका-१ स्थित वैद्यनाथ धाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको भएपनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
हवन गर्ने क्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको अछाम प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिनुभयो । मंगलसेन नगरपालिकाको दमकल, स्थानीय, दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण लिइएको बताएको छ । आगलागी र आगामी कार्यक्रमका बारेमा कोटिहोम आयोजकको बैठक बसिरहेको खबर प्राप्त भएको छ ।
१४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम फागुन १० गतेबाट सञ्चालन भइरहेको छ । कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । कोटिहोम फागुन २५ गतेसम्म चल्नेछ ।