जरा अभियान लिएर एमाले अछाम वडा वडामाः ८४ मा बहुमतकाे माग

अछाम । आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर तीन महिने जरा अभियानसँगै नेकपा (एमाले) अछाम वडा तहमै पुग्न थालेको छ । प्रत्येक पालिका कमिटीले वडा तहको कार्ययोजनाका साथ वडामा केन्द्रित एमाले अछाम एमाले केन्द्रिय उपाध्यक्ष राम बहादुर थापाको प्रमुख आथित्यतामा जिल्लास्तरको अगुवा कार्यकर्ता भेला सकेर एमाले अछामका नेताहरु पालिका हुँदै वडा तहमा पुगेका छन् ।

अछाम जिल्लाका १० वटै पालिका कमिटीले आफ्नो कार्ययोजना बनाएर वडा केन्द्रित भएका छन् । अभियानका क्रममा पार्टी सदस्यता विस्तार, भेला, प्रशिक्षण, नागरिकका सुझाव तथा गुनासा संकलन, स्थानीय तहका जनप्रतिनिधिको काममा अभियान केन्द्रित भएको छ । सदस्यता नविकरण र विस्तार, ३३ प्रतिशत सदस्यता महिला, यूवा दलित, जनजाति, पछाडि परेका समुदायलाई समेट्ने गरेर अभियान वडा तहमै पुगेको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो । “पार्टी कामसँगै नागरिकका गुनासा, समस्या, विकासका योजनाको आवश्यकता, स्थानीय सरकारका कामका बारेमा जानकारी लिने काम भइरहेको छ । अध्यक्ष बोहराले भन्नुभयो ।

एमाले पार्टी र नेतृत्वका विरुद्धमा गरिएका भ्रम चिर्ने, सरकारका राम्रा कामको जनतालाई जानकारी दिने, पार्टीमा फर्काउने र प्रवेश गराउने, जनताका कुरा सुन्ने, सुखी नेपाल समृद्ध नेपालको राष्ट्रिय आकांक्षलाई नागरिकसम्म लैजाने काम भइरहेको बताइएको छ । गएको माघ २४ गते जिल्लाको अगुवा भेलापछि आवश्यक योजना बनाएर अहिले पालिका र वडा तहमा पार्टीको अभियान वडा तहसम्मै पुगेको एमाले केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले जानकारी दिनुभयो ।

“केन्द्रले दिएको जिम्मेवारी अनुसार पालिका र वडामा केन्द्रित भएर अभियानमै छौ ।” केन्द्रिय सदस्य बोहराले भन्नुयो । सामाजिक सञ्जाल, मार्केट र मिडियामा आएजस्तो एमाले अछाम जिल्लामा कमजोर नभएको भन्दै एकताबद्ध, बलियो बनाएर निर्णायक शक्तिमा पुर्याउन केन्द्रिय जिम्मेवारी सहित आफूहरु परिचालित भइरहेको भनाइ इन्चार्ज बोहराको छ । केन्द्रको जिम्मेवारी अनुसार पार्टीलाई सुदृढ र एकताबद्ध बनाएर लैजानका लागि आफूहरु वडा तहमै पुगेको अर्का केन्द्रिय सदस्य तथा क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिल्सेनाले बताउनुभयो ।

वडा तहको अभिायनपछि कार्ययोजना अनुसार टोल तहमा अभियान सञ्चालन गरिने तयारी भइरहेको केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ इन्चार्ज यज्ञ बहादुर बोगटीको भनाई छ । एमाले केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज झपट बहादुर बोहराको नेतृत्वमा केन्द्रिय सदस्य तथा क्षेत्र नं १ इन्चार्ज कमल तिमिल्सेना क्षेत्र नंं १ मा, केन्द्रिय सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज यज्ञ बोगटी क्षेत्र नंं २ को अगुवाइमा प्रदेश, जिल्ला लगायत पालिका कमिटीका पदाधिकारी र सदस्यहरु वडा तहमा पुगेका छन् ।

एमालेले यसअघि एमालेले देशभर मिसन ग्रासरुट अभियान, एक वर्षे सुदृढिकरण अभियान, पुष्पलाल लोकमार्ग संकल्प यात्रा अभियान सञ्चालन गरिसकेको छ । आगामी २०८४ को निर्वाचनमा बहुमत ल्याउनका लागि एमालेले अभियान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page