कार्यसम्पादनमा मंगलसेन नगरपालिका पहिलाे, ढकारी गाउँपालिका अन्तिममा

अछाम । कार्यसम्पादन मूल्याङ्कनमा मंगलसेन नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कन अंकमा मंगलसेन नगरपालिका प्रथम भएको हो ।
आयोगले गरेको विभिन्न सूचकका आधारमा गरेको मूल्यांकनमा मंगलसेन नगरपालिकाले ६६ दशमलव १ अंक प्राप्त गरेको छ । आयोगको मूल्यांकन अनुसार ५९ दशमलव ६ अंकसहित चौरपाटी गाउँपालिका दोश्रो भएको छ । पञ्चदेवल विनायक नगरपालिका ५८ दशमलव ३ अंकसहित तेस्रो स्थानमा आएको छ ।
यस्तै ५३ दशमलव ४ अंक ल्याएर साँफेबगर नगरपालिका चौथो, मेल्लेख गाउँपालिका ५२ दशमलव २ अंकमा पाँचौ ५० दशमलव ६ अंकमा कमलबजार नगरपालिका छैटौँ, ५० दशमलव २ अंकसहित तुर्माखाँद गाउँपालिका सातौँ स्थानमा रहेका छन् । आयोगले सार्वजनिक गरेको विवरण अनुसार ५० अंकमा बान्नीगढी जयगढ गाउँपालिका आठौँ र ४९ दशमलव ९ अंकमा रामारोशन गाउँपालिका नौं स्थानमा रहेको छ । आयोगले गरेको मूल्यांकनमा ४७ दशमलव ७ अंक प्राप्त गरेर जिल्लामा सबैभन्दा पछाडि दशौं स्थानमा ढकारी गाउँपालिका रहेको छ ।
आयोगले आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान गाउँसभामा पेस गरे/नगरेको देखि बजेट अनुमोदन भए/नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए/नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थाी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन गर्दै आइरहेको छ । आयोगले देशभरका स्थानीय तहको हरेक आर्थिक वर्ष यस्तो मूल्याङ्कन गर्ने गर्दछ ।