पूर्व उपप्रमुखद्वारा जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई कापीकलम सहयोग

अछाम । मंगलसेन नगरपालिकाका पूर्व उपप्रमुख सरिता उपाध्यायले जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई कापीकलम सहयोग गर्नुभएको छ । बुवाआमा गुमाएका बालबालिकाहरुलाई लक्षित गरेर उक्त सामग्री सहयोग गर्नुभएको हो ।
मंगलसेनस्थित षोडशा माविमा अध्ययनरत गरिरहेका अनाथ बालबालिकाहरुलाई लेख्ने कापी र सिसाकलम प्रदान गर्नुभएको हो । जन्मदिनको अवसरमा षोडशा माविमा आयोजित एक कार्यक्रमका क्रममा विद्यालयका प्रधानाध्यापक बृकेशसिंह बोगटीले उक्त सामग्री ग्रहण गर्नुभएको हो ।
अनाथ बालबालिकाहरुलाई अध्ययनमा सहजताका लागि आफूले सानो सहयोग गरेको उपाध्यायले जानकारी दिनुभयो । सामग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक बोगटीले सम्बन्धित विद्यार्थीलाई उक्त सामग्री प्रदान गर्ने बताउनुभयो ।
मंगलसेनस्थित षोडाशा माविमा बुवाआमा नभएका बालबालिकाहरुका लागि आवासीय सुविधा सहितको शिक्षा प्रदान भइरहेको छ । मंगलसेन बजारस्थित पुरानो शिक्षा कार्यालय रहेको स्थानमा नयाँ भवन निर्माण गरेर अनाथ बालबालिकाहरुलाई बस्ने व्यवस्था गरिएको छ ।