दुई किशाेरी मृत्यु प्रकरणमा सत्यतथ्य छानविन गर्न काँग्रेस अछामकाे माग

अछाम । दुई किशाेरी जंगलमा मृत भेटिएकी घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली काँग्रेस अछामले सत्यतथ्य छानविनको माग गरेको छ । काँग्रेस अछामका सभापति तथा अछाम–२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाले सिंगो काँग्रेस अछाम स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।
‘घटनाको सुक्ष्म अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ । घटनाका मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरिएको छ ।
शुक्रबार गोठालो गएकी ढकारी गाउँपालिका–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का बेलुकीसम्म घर नफर्केपछि आफन्तले खोजि गरेका थिए । खोजिका क्रममा शनिबार बेलुकी नजिकैको छिन्नी ओडार जंगलमा दुवैको शव फेला परेको थियो ।
घटनास्थलको मुचुल्का गरेर मृतक दुवैको पोष्टमार्टमका लागि आइतबार शव जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।