दुई किशोरीको पोष्टमार्टम अछाम अस्पतालमै हुने, शव मंगलसेन ल्याइयो

अछाम । जंगलमा मृत अवस्थामा भेटिएकी दुई किशोरी शवको पोष्टमार्टम अन्ततः जिल्ला अस्पताल अछाममा हुने भएको छ । यसअघि शवको पोष्टमार्टमका लागि नेपालगञ्ज लैजाने भनिएपनि त्यसलाई रद्ध गरेर जिल्ला अस्पताल मंगलसेनमै पोष्टमार्टम गर्ने निर्णयमा आफन्त पुगेका हुन् ।
पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल अछाममा पुुुर्याउन लागेको बताइएको छ । घटनाको कारण पत्ता लाउनका लागि पोष्टमार्टमपछि आफ्नो परम्परा अनुसार दाहसंस्कार गरिने बताइएको छ । आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी र अन्य सुरक्षा निकायको एक टोली घटनास्थल पुगेको थियो ।
शनिबार बेलुकी घटना बारेमा जानकारी पाए लगत्तै अछाम प्रहरीको टोली घटनास्थलमै रहेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेकाे अछाम प्रहरीका प्रमुख भण्डारीकाे भनाइ छ ।
नेकपा (एमाले) अछामले एक विज्ञप्ति जारी गरेर दुई किशोरी मृत्यु प्रकरण दर्दनाक घटना भएको भन्दै सम्बन्धित निकायलाई सत्यतथ्य रुपमा छानविन गर्न माग गरेको छ । यस घटनालाई चाँसोको रुपमा हेरिएको छ ।