दुई किशोरी मृत भेटिएको स्थानमा अछामका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगे

अछाम । ढकारी गाउँपालिका–८ घोडासेनका दुई किशोरी मृत फेला परेको स्थानमा अछामका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुग्नु भएको छ । उक्त टोलीले घटना र घटनास्थलका बारेमा जानकारी लिने बताइएको छ ।
घटनास्थलमा पुगेर घटनाका बारेमा जानकारी लिइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । ‘भीर भन्दा तल लाश छ, हामी थप बुझ्दै छौं, बाँकी पछि कुरा गरौंला ।’ प्रमुख भण्डारीले भन्नुभयो । घटनास्थलकाे मुचुल्का तयार पारेर मृतक दुवैकाे पाेष्टमार्टमकाे तयारी भइरहेकाे बताइएको छ ।
घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, अगुवा र सर्वसाधारण रहेका छन् । दुवै किशोरीको अवस्था क्षतविक्षत अवस्थामा मृत भेटिएको स्थानमा सुरक्षा निकायसहित स्थानीयको उपस्थिति रहेको पूर्व वडा अध्यक्ष लालबहादुर भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार गोठाला गएर घर नफर्केपछि आफन्तले खोजी गर्दा शनिबार बेलुकी १३ वर्षीया सरस्वती खड्का र १५ वर्षीया इश्वरी खड्का षोडशा सामुदायिक वनको जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा प्रहरीको टोली शनिबार बेलुकी नै पुगेको थियो ।
आइतबारबाट घटनाको गहन अनुसन्धान प्रारम्भ भइसकेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनालाई विभिन्न व्यक्तिहरुले निकै चाँसोको साथमा हेरिरहेका छन् ।