ढकारीका दुई किशोरी जंगलमा मृत फेला

अछाम । जिल्लाको ढकारी गाउँपालिकाका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका–८, पल्साता निवासी अन्दाजी १३ वर्षीया सरस्वती खड्का र अन्दाजी १५ वर्षीया इश्वरी खड्काको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ ।
स्थानीय सामुदायिक वनमा शुक्रबार गोरूबाख्रा चराउन गएका भनिएका दुई किशोरी हिजोबाट घर नआएपछि आजसम्म खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीय रामबहादुर भण्डारीलाई उदृत गर्दै बालाराम ढकालले जानकारी दिनुभयो । दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
घटना बारेमा आफूले भर्खरै जानकारी पाएर धनगढीबाट गाउँ फर्किरहेको उपचारमा जानुभएका ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले जानकारी दिनुभयो । ‘घटना विभत्स खालको भन्ने छ, दुईटाको लाश २० मिटरको फरकमा छ भन्ने आएको छ’ अध्यक्ष साउँदले भन्नुभयो ।
घटनास्थलमा प्रहरी पुगिसकेको भएपनि राति अनुसन्धान हुन नसक्ने भन्दै बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान तयारी अवस्थामा रहेको भण्डारीको भनाइ छ । उक्त वडाको अधिकांश स्थानमा टेलिफोन सम्पर्कको अभावमा थप विवरण आउन बाँकी छ ।