क्यान्सर पत्ता लाउन मंगलसेनमा निःशुल्क शिविर हुने

मंगलसेन । क्यान्सर रोग पत्ता लगाउन जिल्ला अस्पताल मंगलसेनमा निःशुल्क शिविर हुने भएको छ । यही माघ १२ गते विशेषज्ञसहितको एक दिने निशुल्क क्यान्सर रोगको शुरुवाती परीक्षण हुने भएको हो ।
मंगलसेन नगरपालिकाको आयोजनामा अछाम जिल्ला अस्पताल र शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिने छ । क्यान्सर रोगको आशंका भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य अवस्थाको बारेमा आवश्यक सुझाव दिइने बताइएको छ ।
क्यान्सर रोगको आशंका भएका व्यक्तिहरुले रोग निदानका लागि उक्त शिविर आएर स्वास्थ्य परीक्षण गर्न मंगलसेन नगरपालिकाले अनुरोध गरेको छ । मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले फेसबुकमा एक सूचना जारी गरेर जिल्लावासी सबैलाई उक्त शिविरमा आएर मौकाको फाइदा लिन हुन अनुरोध गर्नुभएको छ ।
उक्त शिविरबाट नागरिकले स्वास्थ्य परीक्षणसँगै क्यान्सर लाग्न नदिने उपाय, क्यान्सर भइहालेमा त्यसको उचित रोकथाम, उपचार र व्यवस्थापन आदिका बारेमा जानकारी लिन सकिनेछ । यस्तै क्यान्सरको उपचार, उपचार केन्द्रहरुसँगै यसमा अन्य जानकारी पाइने बताइएको छ ।
क्यान्सर पत्ता लाउने उक्त शिविरको आयोजनाले धेरै नागरिकले सहज सेवा भएको अधिकाँसको प्रतिक्रिया रहेको छ । आर्थिक अभाव, रोग थाहा नपाएका, बाहिर जान नसक्नेले जिल्लामै निशुल्क सेवा पाउने भएपछि सकारात्मक प्रतिक्रिया रहेको छ ।
पछिल्लाे समय क्यान्सरका बिरामीहरू पत्ता लाग्ने क्रम बढेकाे भन्दै यसबाट बच्ने उपायका बारेमा धेरैले चिन्ता व्यक्त गरिरहेका छन् ।