मंगलसेन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः अन्तिम खेल भोलि

अछाम । मंगलसेन नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज पाँचौ दिन विभिन्न खेल सम्पन्न भएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी र दौडका खेलहरु सम्पन्न भएका छन् ।
सम्पन्न भएका खेल मध्येमा सबैभन्दा अगाडि षोडशा मावि रहेको छ । दोश्रोमा मंगला नेपाल राष्ट्रिय मावि, तेश्रोमा अछाम बहुमुखी क्याम्पस रहेको खेल निर्णायक धनकुमार केसीले जानकारी दिनुभयो । कुन्ती मावि चौथो, पाँचौ राधा मावि, छैटौं गंगा मावि, सातौ यशोधरा मावि, आठौ कालिका मावि, नवौमा अन्नपूर्ण मावि, दशौ स्थानमा पार्वती मावि र जाल्पा मावि र अन्त्यमा एघारौ स्थानमा शिशुसुधार मावि रहेको बताइएको छ ।
प्रतियोगितामा बाँकी रहेका विभिन्न खेलहरु भोलि खेलाइने भएको छ । जस मध्येमा छात्रातर्फको भलिबलको सेमिफाइनल खेलमा अन्नपूर्ण र षोडशा मावि बीच र शिशुसुधार मावि र गंगा मावि बीचमा प्रतिष्पर्धा हुनेछ । यस्तै यस्तै षोडशा मावि र अन्नपूर्ण मावि कालागाउँ बीचमा छात्रको प्रतिष्पर्धा भोलि नै हुनेछ । यस्तै छात्र र छात्रा बीचको तीन हजार दौड प्रतियोगिता भोलि नै सक्ने बताइएको छ ।
विजेताहरुलाई सिल्ड, कप, मेडलसहित प्रमाणपत्र वितरण गरेर भोलि नै समापन गरिने मंगलसेन नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जानकारी दिएको छ । प्रतियोगिता उदघाटन भएको दिनबाट तीन दिनमा समापन गरिने योजना राखिएपनि वर्षा र अन्य प्राविधिक कारण समय लम्बिएको छ ।
मंगलसेन नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म विभिन्न खेलहरु भइरहेका छन् । उक्त प्रतियोगितामा मंगलसेन नगरपालिकास्थित १२ वटा विद्यालयको सहभागिता रहेको छ ।