भूकम्प प्रभावितको घर पुननिर्माण अछामबाट शुरूवातः प्रभावितसँग सम्झौता
अछाम । भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुननिर्माणको पहिलो पटक अछाम जिल्लाबाट शुरुवात गरिएको छ । दुई वर्षअघि डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको पुननिर्माण गर्ने काम अछामबाट प्रारम्भ भएको हो ।
अछाम जिल्लामा मंगलसेन नगरपालिका–५ की खन्टी कामीसँग सम्बन्धित वडा कार्यालयमै निजी निवास निर्माणको पहिलो सम्झौता गरिएको हो । कामीको घर निर्माणका लागि मंगलसेन नगरपालिका–५ को वडा कार्यालयमा वडा अध्यक्ष झंकर प्रसाद भाट र लाभग्राही बीचमा बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
भूकम्प पश्चात क्षतिको विस्तृत आँकलनको प्रतिवेदनका आधारमा लाभग्राही छनौट गरेर पुननिर्माण र सबलीकरणको काम पहिलो पटक अछामबाट थालनी गरिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय अछामले स्थानीय तहको समन्वयमा लाभग्राहीहरुसँग सम्झौता गरेर निजी निवास निर्माणको काम अघि बढाइएको छ । लाभग्राहीले पुननिर्माण वा मर्मतको रकम सम्बन्धित स्थानीय तहबाटै प्राप्त गर्ने छन् ।
२०७९ कात्तिक तेश्रो साता गएको भूकम्पका कारण अछामका दश स्थानीय तहमा पाँच हजार ५४० घरपरिवारको आवास पुनःनिर्माण र सबलीकरण गरिने भएको हो । जस अनुसार मंगलसेन नगरपालिकामा ४५६, कमलबजारमा २८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा ७६०, ढकारी गाउँपलिकामा ८९ घरपरिवार लाभान्वित हुने भएका छन् । यस्तै साँफेबगर नगरपालिकामा दुईहजार ४२८, रामारोशन गाउँपालिकामा दुई सय, मेल्लेख गाउँपालिकामा ६०३, तुर्र्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा ६२६ निजी आवास पुनःनिर्माण र प्रबलीकरणमा रहेका छन् ।
भूकम्प प्रभावितका निजी निवास पुननिर्माण वा मर्मत हुने भएपछि लाभग्राही र स्थानीय जनप्रतिनिधि सकारात्मक काम भएको बताएका छन् । “भूकम्प पीडितले हामीलाई सताई रहेका थिए, बल्ल सरकारले नै घर बनाइ दिने भएपछि हामीलाई पनि सहज भएको छ ।” मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको भनाइ छ । छनौट भएका सबै स्थानीय तहका लाभग्राहीलाई क्रमशः सम्झौता गरेर काम गरिने बताइएको छ । स्थानीय तहको समन्यमा सम्बन्धित लाभग्राहीसँगको सम्झौता गरेर निजी आवासको पुनःनिर्माण वा मर्मतका काम गरिने प्रजिअ लम्सालको भनाई छ ।
भूकम्पबाट भौतिक संरचनामा क्षति भएको पुनःनिर्माणमा राम्रो समन्वय गरेको भन्दै मंगलसेन नगरपालिकाका प्रमुख बोहराले प्रमुख जिल्ला अधिकारीले लम्साललाई सामाजिक सञ्जाल फेसबुकमै लेखेर धन्यवाद दिनुभएको छ । यस्तै पहिलो काम आफ्नै वडाबाट शुरुवात भएकोले प्रमुख जिल्ला अधिकारी लम्साललाई मंगलसेन नगरपालिका–५ का वडा अध्यक्ष झंकर प्रसाद भाटले पनि फेसबुकबाटै धन्यवाद लेख्नुभएको छ ।
भूकम्प पीडितको निवास निर्माण सम्झौताका बोहरा, लम्साल र भाटसँगै नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, अनुसन्धान कार्यालयका प्रमुख दिल बहादुर चौधरी, मंगलसेन नगरपालिकाका ३ वडा अध्यक्ष बृख बहादुर बोगटी, ६ का वडा अध्यक्ष देवेन्द्रप्रसाद भण्डारी, स्थानीय अगुवा लिलाराज केसी, जनप्रतिनिधि, कर्मचारी र लाभग्राही रहेका थिए ।
२०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पले अछामका भौतिक संरचना क्षति गरेको थियो । उक्त भूकम्पका कारण छ हजार ३३६ संरचनामा क्षति पुर्याएको विवरण जिल्ला प्रशासन कार्यालय अछामसँग विवरण रहेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार अछाममा ६६३ पूर्ण र दुई हजार ७९५ घर आशिंक क्षति भएको थियो । भने १३२ सार्वजनिक संरचनामा क्षति पुगेको विवरण रहेको छ ।
