मंगलसेन नगरस्तरीय खेलकुद प्रतियोगिता उद्घाटनः वर्षाका कारण खेल अवरुद्ध

अछाम । मंगलसेन नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलसेनमा उद्घाटन गरिएको छ । मंगलसेनस्थित बृहत खेल मैदानमा संविधान सभा सदस्य भैरे कामी र विशेष अथिति प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले एक औपचारिक कार्यक्रमका बीचमा पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरिएको छ ।

पहिलो दिनमा उद्घाटन कार्यक्रम सम्पन्न भएपनि वर्षाका कारण खेल प्रभावित भएका छन् । वर्षा नभएमा शुक्रबारबाट खेलहरु प्रारम्भ गरिने बताइएको छ । प्रतियोगितामा मंगलसेन नगरपालिकाका १२ माध्यमिक विद्यालयले खेलकुदका विभिन्न विधामा प्रतिष्पर्धा हुने गरेर प्रतियोगिता शुरु गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अथिति सविधानसभा सदस्य भैरे कामीले खेल क्षेत्रको बृहत्तर विकासका लागि राज्यले उचित लगानी गर्नुपर्ने बताउनुभएको छ । खेल क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्न नसक्दा खेल क्षेत्रको विकास र विस्तार हुन नसकेको भन्दै कामीले पर्याप्त लगानी विना परिणाम हासिल गर्न नसकिने भनाई राख्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले खेललाई व्यवसायिक रुपमा लैजान सुझाव दिनुभयो । खेल क्षेत्रपनि व्यवसायिक नबनेसम्म यस क्षेत्रको विकास नहुने भएकोले व्यवसायिक खेलमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रमका अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुखपदम बहादुर बोहराले कुनैपनि ठाउँको परिचय र पहिचान दिलाउने क्षेत्र भनेकै खेल क्षेत्र भएकाले लगनशीलताका साथ खेल खेल्न आग्रह गर्नुभएको छ । राज्यबाट खेल क्षेत्रमा पर्याप्त लगानी हुन नसक्दा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारी, सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावल, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, १४ वटै वडाका अध्यक्ष, वडाका जनप्रतिनिधिहरुलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

नगर उपप्रमुख संगीता रावल सोडारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगतबहादुर रावलले गर्नुभएको थियोे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page