खेलकुद शिक्षकसँग नगर शिक्षा शाखाको बैठक सम्पन्न
मंगलसेन । आउँदो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बारेमा मंगलसेन नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले खेलकुद शिक्षकहरुसँग छलफल गरेको छ । मंगलसेन नगरपालिकामा रहेका माध्यामिक विद्यालयका खेलकुद शिक्षकहरुका बीचमा प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि छलफल गरिएको हो ।
छलफलका क्रममा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई अझै बढी प्रभावकारी बनाउनका लागि छलफल गरिएको हो । सहभागी हुनुभएका खेलकुद शिक्षकहरुले व्यवस्थापन र बजेटलाई ध्यान दिएर जिम्मेवारी पूरा गरेमा प्रतियोगिता प्रभावकारी हुने सुझाव राखेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि छलफलका क्रममा विभिन्न समितिका संयोजक र सदस्यहरु समेत तोकिएका छन् ।
शिक्षा तथा खेलकुद शाखा अधिकृत जगत बहादुर रावलले अघिल्लो वर्षको भन्दा यसवर्ष खेललाई सबैले अझै उत्साहपूर्ण बनाउन सबै पक्ष सक्रिय भएर लाग्नु आग्रह गर्नुभएको छ । अधिकृत रावलले प्रतियोगिता नगरको भएपनि सबै पक्षले आफै आयोजक जस्तै भएर सम्पन्न गर्नका लागि अनुरोध गर्नुभएको छ ।
शिक्षा अधिकृत रावलको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन उक्त शाखाका प्राविधिक सहायक दीपक बहादुर भण्डारीले गर्नुभएको थियो । मंगलसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही माघ ३ गतेबाट मंगलसेन बजार नजिकको बृहत खेलमैदानमा सञ्चालन गरिने छ । उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न तयारीका काम तीव्र रुपमा भइरहेका छन् ।