दुई क्षेत्रका सांसदका लागि एमालेका १७ जना सिफारिस
अछाम । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लागि अछामका दुई निर्वाचन क्षेत्रबाट १७ जना सिफारिस गरिएको छ । प्रतिनिधिसभाको क्षेत्र नं. १ बाट ९ जना र क्षेत्र नं. २ बाट ८ जनालाई सिफारिस गरिएको सम्बन्धित क्षेत्र समन्वय कमिटीले जनाएको छ ।
एमाले पार्टीले क्षेत्र नं. १ बाट कमलराज तिमिल्सेना, झपट बोहरा, मनसरा साउँद, कृष्णप्रसाद जैसी, तिलक कुँवर, जनक रावल, मोति विक, पूर्ण साउँद, केशर साउँदलाई सिफारिस गरेको छ । बोहरा एमाले केन्द्रिय सदस्य तथा पूर्व प्रदेशमन्त्री, तिमिल्सेना एमालेको निवर्तमान केन्द्रिय सदस्य, जैसी एमालेको प्रदेश समिति अध्यक्ष, कुँवर जिल्ला उपाध्यक्ष, केशर पूर्व प्रदेश समिति सदस्य हुनुहुन्छ । यस्तै मनसरा अखिल महिला संघ, जनक वैदेशिक रोजगार, विक र पूर्ण युवा नेताको भूमिकामा रहेका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ का संयोजक भीमबहादुर खड्काका अनुसार ९ जनाकै नाम जिल्ला कमिटीमा पठाइएको बताइएको छ ।
यस्तै क्षेत्र नं. २ मा सिफारिस हुनेमा यज्ञबहादुर बोगटी, शिवप्रसाद उपाध्याय, चन्द्रबहादुर बोहरा, बमबहादुर विसी, नरेशकुमार शाही, सिद्धप्रसाद ढुंगाना हस्तना चन्द र भीम जनाला रहनुभएको छ । बोगटी एमाले केन्द्रिय सदस्य तथा २०७४ मा यही क्षेत्रमा प्रतिनिधिसभा सदस्य हुन् । उपाध्याय हाल एमाले अछामका अध्यक्ष र बोहरा निवर्तमान अध्यक्ष रहेका छन् । विसी एमालेका पूर्व सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र हाल एमालेको समानुपातिकमा समेत रहेका छन् । जनाला एमालेको सुदूरपश्चिम प्रदेश सदस्य, शाही, ढुंगाना र चन्द एमाले अछामको वर्तमान जिल्ला सदस्य हुनुहुन्छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले आगामी निर्वाचनका लागि सम्भावित उम्मेदवार दुवै क्षेत्रबाट जिल्ला कमिटीमा सिफारिस गरिएको हो । भोलि अर्थात सोमबार बस्ने एमाले जिल्ला कमिटीको बैठकमा आकांक्षीको नाममा बारेमा छलफल हुने बताइएको छ । जिल्ला कमिटीको बैठकले सबै नामावली प्रदेश कमिटीमा पनि पठाउन सक्ने पनि केहीको भनाइ छ ।
वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । सोही अनुसार आइतबार निर्वाचन आयोगले देशभरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिसकिएको छ ।
