अछाममा स्थानीय तह पुनर्संरचना: रामारोशनका पाँच विकल्प
अछाम । अछाम जिल्लामा स्थानीय तहको पुनर्संरचना र सीमांकनका विषयमा विभिन्न स्थानीय तहहरूले नयाँ विकल्पहरू अघि सारेका छन् । छलफलका क्रममा रामारोशन क्षेत्रको पर्यटकीय महत्त्व र जनसंख्यालाई आधार मानेर यस गाउँपालिकालाई यथावत राख्ने वा अन्य क्षेत्रसँग गाभ्ने गरी विभिन्न पाँच विकल्पहरू प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर साउँदले जानकारी दिनुभयो । रामारोशन आफैँमा एक पर्यटकीय क्षेत्र भएको र यसको जनसंख्या पनि पर्याप्त रहेकाले यसलाई अहिलै अवस्थामा राख्नका लागि पहिलो सुझाव प्रस्तुत गरिएको छ ।
सडक सञ्जालको सुगमता र सामीप्यताका आधारमा बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकालाई गाभेर एउटै पालिका बनाउन सकिने दोस्रो प्रस्तावमा छ ।
यस्तै मंगलसेन नगरपालिकाका वडा नम्बर १२ (वान्नातोली) र १४ (कालागाउँ) र बान्नीगढी गाउँपालिकाका वडा नम्बर ५ (कालिका) ६ (दर्ना) र रामारोशन गाउँपालिकालाई समेटेर तेस्रो विकल्प तयार पारिएको छ । रामारोशन, बान्नीगढी र साँफेबगर नगरपालिका वडा नम्बर ६ (भागेश्वर), ७ (रिडिकोट,) ८ (चण्डिका) जोजेर जोडेर अर्को संरचना बनाउने विकल्प अघि सारिएको छ । जिल्लामा कुल पालिकाहरूको संख्या घटाएर चारवटामा मात्र सीमित गरियो भने रामारोशन, बान्नीगढी र मेल्लेख गाउँपालिकालाई गाभेर एउटै पालिका बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।
पालिका घटाउन नहुने अडान छलफलका क्रममा स्थानीय स्तरमा भौतिक संरचनाहरू बनिसकेको र मानिसहरूले यसको अभ्यास गरिसकेकाले पालिकाहरूको संख्या घटाउन नहुने धारणा व्यक्त गरिएको छ । संरचना बनिसकेको अवस्थामा त्यसलाई थप सुदृढ बनाउनुपर्नेमा सरोकारवालाहरूको जोड रहेको देखिन्छ ।
